काठमाडौँ । माइक्रोसफ्टका संस्थापक अरबपति बिल गेट्सले आगामी २० वर्षभित्र आफ्ना करिब २०० अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति दान गर्ने घोषणा गरेका छन्।
गेट्सले यससँगै सन् २०४५ डिसेम्बर ३१ मा गेट्स फाउन्डेसन बन्द गरिने जानकारी पनि दिएका छन् । बिहीवार आफ्नो व्यक्तिगत ब्लग ‘गेट्स नोट्स’ मा एक ब्लग सार्वजनिक गर्दै उनले आफ्नो भावी योजनाका विषयमा जानकारी दिएका हुन् ।
सन् २००० मा पूर्व पत्नी मेलिन्डा फ्रेन्च गेट्ससँग मिलेर गेट्स फाउन्डेसन स्थापना गरेका गेट्सले उक्त संस्थालाई आफ्नो मृत्युपछि सम्म पनि निरन्तर सञ्चालन गर्ने योजना बनाएका थिए। तर अहिले उनले बाँकी जीवनकालमै सबै सम्पत्ति समाजसेवामा खर्च गर्ने निर्णय गरेका हुन् ।
उनले यस निर्णयबाट अन्य अरबपतिहरूलाई पनि समाजसेवामा योगदान दिन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।