रेडक्रस मानवीय सेवाका कार्यहरु गर्नको लागि स्थापित संस्था हो । विश्वका १५६ देशहरुमा फैलिएको यो संस्थाका नेपालमा पनि धेरै शाखा उपशाखाहरु छन् । विपतको बेलामा यस संस्थाले उद्धार, राहत तथा औषधी उपचारलगायतका विभिन्न कामहरु गर्ने गरेको छ । यसै बिचमा हामीले रेडक्रस सोसाइटी झुम्का उपशाखाका सभापती ईश्वर घिमिरेसँग न्युजलयका लागि ज्योती पोख्रेलले गरेको कुराकानी –
रेडक्रसले कसरी काम गर्छ ?
विपतमा परेका मानिसहरुलाई तत्काल उद्धार गर्ने र मानवीय सहायताहरु, खाने, लुगा कपडा, बस्ने व्यवस्थाका लागि सहजीकरण गर्ने काम रेडक्रसले गर्छ । राहतको लागि हामी सहयोगी दाताहरुसँग सहयोग लिएर वितरण गर्छौं । यस्तै जिन्सी सामाग्रीअन्तर्गत पकाउने भाँडा, बाल्टी, कपडाहरु केन्द्रबाट आउने गरेको छ ।
यो उपशाखाले कसरी काम गरिरहेको छ ?
विगतका दिनहरुमा रामधुनी नगरपालिकाको वडा नं. १, २ र ३ मा आएको बाढीबाट प्रभावितहरुको लागि हामीले घरघर पुगेर सहयोग गर्यौं । रामधुनी नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, नेपाल रेडक्रस सोसाइटी उपशाखा, जिल्ला विपद समितिसँगको सहकार्यमा करिब तीन सय परिवारलाई राहत वितरण गरेका थियौं । खाद्यान्न थोरै घरपरिवारमा वितरण गरेपनि त्रिपाल, कम्बललगायतका लत्ताकपडाका सामाग्री अधिकांश बाढी पीडित घरपरिवारलाई वितरण गरिएको थियो । जाडो समयमा आन्तरिक स्रोतबाट आफैले पैसा उठाएर विद्यालयका बच्चाहरुलाई स्वीटरहरु वितरण गरेका छौं । यो वर्ष आजका दिनसम्म कुनै विपत यस क्षेत्रमा आइपरेको छैन । तर हामी हरपल तयार छौं ।
रेडक्रसले कस्तो कस्तो अवस्थामा राहत वितरण गर्छ ?
गम्भीर प्रकृतिका घटनाहरुमा जानकारी भएलगत्तै हामी पुगिसक्छौं । घटना स्थलमा पुगेर घटनाको प्रकृतिको अध्ययन अवलोकन गरेर राहत सामाग्री वितरण गर्दछौं । तर नगरपालिका, वडाको सिफारिस, प्रहरी प्रशासनको प्रतिवेदन भएको खण्डमा हप्ता दिनपछि पनि राहत सामाग्री प्रदान गर्ने गर्दछौं ।
के कस्ता चुनौतीहरुको सामना गर्नु परीरहेको छ ?
हामीले दिने राहत सामाग्री पर्याप्त हुँदैनन् । हामी अशक्त, केही नभएकालाई मात्र राहत दिने भन्छौं । आफैमा सक्षम मानिसहरु आफ्ना आफन्तहरुसँग जोडिएर पनि रहन सक्छन् तर हामी केही गर्न नसक्ने र नहुनेलाई लक्षित गरेर राहत वितरण गर्छौं ।
यस्तै हामीलाई संस्थाको भवन निर्माण गर्न समस्या भएको थियो । संस्थाको स्थापना कालमा म कोषाध्यक्ष थिएँ । करिब १२ वर्ष भाडाको घरमा कार्यालय राखेर सञ्चालन गर्यौं । पछि नगरपालिकाले जीर्ण भवन भोगाधिकारको लागि दिएको थियो । त्यसलाई मैले भत्काएर नयाँ बनाउन तिर लागेँ । भत्काएर बनाउन लाग्दा अख्तियार र जिल्ला अदालतमा मुद्दा पर्यो । तर त्यहाँका साथीहरुले मलाई सहयोग गर्नुभयो । पत्रकारहरु, जिल्ला रेडक्रस, केन्द्र रेडक्रसबाट पनि सहयोग मिल्यो ।
के कारण मुद्दा पर्यो ?
हामीले ऐलानी जग्गामा भवन बनाएका थियौं । नजिकका केहीले बाटोमा भवन बनायो भनेर मुद्दा हाले । जग्गावालाको छिमेकीसँग दुश्मनी रहेछ, बीचमा हामीलाई पारियो ।
जिल्ला अदालतको मुद्दा जित्यौं । फेरी पुनरावेदनमा पर्यो र त्यहाँ पनि मुद्दा जित्यौँ । अख्तियारमा भने अझै जारी छ । तर जे होस्, संस्था सुकुम्बासीबाट माथि उठेर दुई तले घरमा सञ्चालन हुन सकेको छ ।
तपाईहरुलाई संस्था सञ्चालनको लागि कसको कस्तो सहयोग आवश्यक छ ?
रामधुनी नगरपालिकाका नगरप्रमुखदेखि अधिकांश जनप्रतिनिधिहरु, शिक्षक, स्थानीय बुद्धीजिवीले हाम्रो कार्य समितिमा रहेर साथ सहयोग गर्दै आउनुभएको छ । त्यसैले यो संस्था विशिष्ट संस्था हो ।
संस्थालाई यसको उद्देश्यअनुसार सञ्चालन गर्न नगरपालिका र यहाँका सबै संघसंस्था व्यक्तिहरुको सहयोग आवश्यक पर्छ । हामीसँग ट्रेनरहरु पनि पर्याप्त नै छन् । आर्थिक पाटोमा नगरपालिका, वडालगायत संघ संस्थाले सहयोग गरेको खण्डमा केही न केही सुधार गर्न सक्छौं भन्ने लाग्छ । अब नगरपालिकाले आर्थिक सहयोग गर्यो भने एकवर्षमा घेराबारा गर्ने लक्ष्य छ । पारदर्शी रुपमा काम गर्ने संस्था भेटिएमा हामी अन्य संस्थाहरुसँग साझेदारीमा पनि काम गर्छौं । केही संस्थाहरु त्यहीँबाट कमाउ भन्ने खालका पनि हुनसक्छन् त्यस्तो संस्थाहरुसँग रेडक्रसले साझेदारी गर्दैन ।
रेडक्रसमा अबको नेतृत्व कस्तो आउला वा आउनुपर्ला ? अन्तिममा के भन्न चाहनुहुन्छ ?
समितिका धेरै साथीहरुmले सभापतिको रुपमा आउने इच्छा देखाउनु भएको छ । मैले जसरी सञ्चालन गरेको छु, त्योभन्दा राम्रो गर्नुहुनेछ भन्नेमा मलाई विश्वास छ । अहिले रामधुनी रेडक्रसको कार्यक्षेत्र फराकिलो रहेको छ । साथै यसका नियम र विधानहरु पनि कडा छन् । अनुशासनमा रहेर काम गरेन भने उपशाखाहरु स्वतः खारेज हुन्छन् । त्यस्ता उपशाखाहरुलाई पनि नगरमा जोड्दै लगेका छौं । नेतृत्व चयन सर्वसम्मत होस् भन्ने चाहन्छु । मैले पनि धेरै वर्ष यहाँ रहेर काम गरेँ । म मेरो कार्यकालमा र आगामी दिनमा रेडक्रसलाई साथ दिनुहुने सम्पुर्णमा धन्यवाद दिन चाहन्छु ।