इन्जिनियरको जागिर छाडेर महाकुम्भ मेलामा भाइरल बनेका बाबा आश्रमबाटै निष्कासित

न्युजलय ७ माघ २०८१, सोमबार ०३:०९ मा प्रकाशित

काठमाडौं । १४४ वर्षपछि भारतको प्रयागराजमा भइरहेको महाकुम्भ मेलामा भाइरल बनेका आईआईटियन बाबालाई आश्रमबाट निष्कासित गरिएको छ । इन्जिनियर पेसा छोडेर सन्यासी बनेका अभय सिंहलाई सन्तहरू बस्ने जुना अखडाबाट निकालिएको हो । 

अभयले आफ्ना गुरु महानन्त स्वामेश्वर पुरीलाई ‘पागल’ भनेको रिल इन्टाग्राममा भाइरल बनेको थियो । उनले आफ्ना बुबालाई ‘हिरण्यकश्यप’ भनेका थिए । 

उक्त भिडिओ भाइरल भएपछि गुरुको अपमान गरेको भन्दै आश्रम आसपास समेत रहन नपाउने गरी उनलाई शनिबार निकालिएको हो । आफ्नो गुरुको सम्मान गर्ने मात्र सन्त बन्न सक्ने भन्दै सिंहमाथि गुरु शिष्य नियमको उल्लङ्घन गरेको आरोप लगाइएको छ । 

भारतको हरियाणा घर भएका अभय सिंह पेसाले एयरोस्पेस इन्जिनियर थिए । भारतको उत्कृष्ट इन्जिनियरिङ कलेज आईआईटी बम्बईमा पढेका उनी क्यानडामा मासिक करिब चार लाख ८० हजार रुपैयाँको जागिर छाडेर सन्यासी बनेका हुन् । 

गत हप्ताबाट कुम्भ मेला सुरु भएसँगै उनी भाइरल भइरहेका छन् । उनले विभिन्न भारतीय सञ्चारमाध्यम तथा व्यक्तिलाई अन्तर्वार्ता दिएका छन् । सोही क्रममा उनले आफ्ना गुरुलाई पागलको संज्ञा दिएका थिए । 

आश्रमबाट निकालिए पनि उनले मेला भने छाडेका छैनन् । हाल उनी ज्योतिषहरूको एक शिविरमा शरण लिइरहेका छन् ।