२०७८ साल कार्तिक ७ गते अाईतबार

असोज २५ गतेदेखि देशभरका हल सञ्चालनमा आउने

न्युजलय १९ असोज २०७८, मङ्गलबार १०:१९ मा प्रकाशित

 काठमाडौं । कोरोना महामारीका कारण डेढ वर्षदेखि बन्द रहेको चलचित्र उद्योग पुनः असोज २५ गतेदेखि देशैभर सुरु हुने भएको छ। सरकारले एक महिना अघि भदौ १५ गते स्वास्थ्य मापदण्ड पालना गरेर चलचित्र हलहरु सञ्चालन गर्न अनुमति दिएको थियो।

चलचित्र निर्माता सङ्घले पहिलो चरणमा नेपाली चलचित्र रिलिज गरेर असोज २५ गतेदेखि देशैभरका फिल्महल सञ्चालनमा ल्याउने तयारी गरेको नेपाल चलचित्र सङ्घका अध्यक्ष मधुसूधन प्रधानले जानकारी दिए।

सरकारले एक महिनाअघि नै हल सञ्चालन गर्न अनुमति दिए पनि लामो समयदेखि बन्द रहेका हल थप व्यवस्थापन र सरसफाइ गर्नुपरेकाले एक महिना ढिलाइ भएको अध्यक्ष प्रधानले बताए।

कोरोना महामारीमा कम मात्रामा चलचित्र निर्माण भएकाले दर्शकको रोजाइ र उपस्थितिलाई हेरेर क्रमशः नेपाली चलचित्रहरु रिलिज गर्दै जाने उनले बताए। हल सञ्चालक, फिल्म वितरक, चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, र नेपाल चलचित्र कलाकार सङ्घले व्यवसायलाई रणनैतिक ढंगले अघि बढाउने विषयमा छलफल सुरु गरेको संघले जनाएको छ।

कोरोना महामारीले चलचित्र व्यवसाय प्रभावित बनेको छ। करोडौं रुपैयाँ लगानीबाट निर्माण भएको चलचित्र रिलिज गरे पनि दर्शकको उपस्थिति नभए व्यवसायीलाई नोक्सान हुने भन्दै व्यवसायीहरुले दर्शकहरुमा स्वास्थ्यका दृष्टिले सुरक्षित र दर्शकको मनोवैज्ञानिक त्रास हटाउन योजनाबद्ध कार्यक्रम ल्याउने समेत तयारी थालेको जनाएको छ।

यता चलचित्र विकास बोर्डले भने रिलिज हुने चलचित्रलाई प्रतिगोटा पाँच लाखसम्म राहतस्वरुप सहयोग गर्ने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए। कोरोना महामारीका कारण देशभरका दुई सयभन्दा बढी हल पूर्णरुपमा बन्द रहेको सङ्घको भनाइ छ।

डेढ वर्षदेखि करिब २१ वटा चलचित्र निर्माण भएर रिलिजको पर्खाइमा रहेको सङ्घले जनाएको छ। यता कोरोना महामारीकै बीच पाँचवटा चलचित्र निर्माण भएको र एउटा चलचित्र कोरोना महामारीमै निर्माण भएर रिलिज भएको थियो।