विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारायण माझी निर्वाचित भएका छन् ।
माझीले ६ हजार ९६९ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका थारुले ५ हजार ३ सय ३३ मत ल्याए । यस्तै, नेकपा एमालेका तुलसी राम विश्वासले ४ हजार १५९ मत ल्याएर तेस्रो भएका छन् । ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका मध्ये १८ हजार ५७७ मत खसेको थियो ।
२०७९ को निर्वाचनबाट गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार ७ हजार ६०५ मत ल्याएर विजयी भएका थिए । गत असार ३ गते उनको निधन भएपछि उपनिर्वाचन भएको हो ।
पालिकाको ७ वटा वडामध्ये एमालेले ४, कांग्रेसले २ र माओवादी केन्द्रले एउटा वडाध्यक्ष जितेका छन् । २०७४ सालको निर्वाचनमा भने उक्त पालिकामा एमाले विजयी बनेको थियो ।