इटहरी । इटहरीस्थित नारी सृजना कुञ्जले महिलाहरुको उद्यमशीलता प्रवद्र्धनलाई जोड दिएको छ । वि.सं. २०७८ वैशाख २९ गते स्थापना भएको कुञ्ज महिला उद्यमशीलता विकास तथा नारी र नारित्वको हक हितमा काम गर्ने संस्था हो । विपन्न गरीब महिलाहरुलाई सिप सिकाउँदै आत्मनिर्भर बनाउनु कुञ्जको धेय रहेको छ । नारी सृजना कुञ्जले महिला उद्यमीहरुको उत्पादन बिक्री वितरणको माध्यम बनेको छ । हाल यस संस्थामा पाँच जना सदस्यहरु रहेका छन् । नारी सिर्जना कुञ्जकी अध्यक्ष प्रतिक्षा अधिकारीसँग न्युजलयको लागि ज्योति पोख्रेलले गरेको संक्षिप्त कुराकानीः
यो संस्थाले कस्तो काम गर्दछ ?
यो संस्थाले महिला उद्यमशीलता र विपन्न वर्गका महिलाहरुलाई उत्थान गर्ने, नारित्वको विकास गराउँदै अगाडी बढाउने कामहरु गर्दछ । यो संस्थाले सबै महिलाहरुको काम गर्ने भएकाले नगरपालिका, वडाअन्तर्गतका कार्यक्रमहरु लिएर पालिकाहरुसँगै समन्वय गरेर गर्ने भएको कारणले गर्दा यसमा प्रमुख भूमिका मैले नै गर्दै आएको छु ।
यस संस्थामार्फत् अहिलेसम्म के के कामहरु सम्पन्न गर्नुभयो ?
हामीले इटहरीलाई केन्द्र बनाएर प्रदेशभरी विभिन्न ठाउँमा महिलाहरुको हितकै लागि भनेर आर्थिक रुपले विपन्न महिलाहरुलाई सिपमूलक तालिमअन्तर्गत धातुबाट बनिने सामाग्री निर्माणको तालिमहरु सञ्चालन गर्यौं । योलगायत नेपालमा नेपाली दिदीबहिनीहरुले नै उत्पादन गर्नुभएको सामाग्रीहरुलाई विदेशी मुलुकमा पुर्याएर बिक्री वितरण गर्ने कामहरु गर्यौं । विश्वव्यापी कोरोना महामारीको समयमा प्रदेश सरकार, स्थानीय सरकार नगरपालिका, वडा लगायत विभिन्न संघसंस्थाहरुसँग समन्वय गरेर महिलालाई उद्यमी बनाउने उद्देश्यले काम गर्यौं र अहिलेपनि निरन्तर गरिरहेका छौं । हामीले स्थापना कालदेखि अहिलेसम्म काशी प्रदेश भरीका पाँच हजार महिलालाई सिपमुलक तालिम दिईसकेका छौं । त्यसमध्ये ४० जना महिलाहरु व्यवसायिक रुपमा स्थापित भैसक्नु भएको छ । उहाँहरुको उत्पादन नारी सृजना कुञ्जबाट निरन्तर अहिले पनि बिक्री वितरण गराउँदै आएका छौं । निश्चित महिलालाई दीर्घकालिन रुपमा नै लाभान्वित हुने गरी सिप विकास तालिम प्रदान गर्ने कार्यलाई प्राथमिकता दिएकाछौं । संख्या सिमित भएपनि उत्पादन दीर्घकालिन होस् भन्ने हाम्रो उद्देश्य रहेको छ ।
नारी सृजना कुञ्जको आगामी योजनाहरु के के रहेका छन् ?
हाम्रो संस्थाको सबै भन्दा मुख्य योजना महिलालाई उद्यमी बनाउने हो । अहिले पनि ‘एक घर एक उद्यमी महिला’ अभियानमा छु । यसबाट प्रत्येक घरमा महिला पनि सक्षम हुन्छन् । घरैमा बसेर पनि घरैमा बनेका सामाग्री मार्फत उद्यमशिलता सिर्जना गर्न सक्छन् । आगामी दिनमा नारी र नारित्वको विकास गर्दै महिला संस्कार र संस्कृति संरक्षण गर्ने, जति पनि अहिले पाह्चात्य संस्कृतिले छपक्कै छोपी रहेको अवस्थामा हामी को हौं, नारी के हो ? नारित्व के हो ? हामीले भविष्यमा के गर्न सक्छौं भन्ने कुरालाई मनन गर्दै अघि बढ्ने योजना छ । हाम्रो पहिचानलाई उत्थान गर्दै महिला उद्यमशीलताको पाटोमा महिलाहरु आँफै आत्मनिर्भर भएर कामहरु गर्न सकौं । आफ्नो लागि कसै प्रति समर्पित हुन नपरोस् । आफैंमा सक्षम, आत्मर्निर नारी बनुन् भन्ने लाग्छ । महिलालाई सिप विकास गराउँदै महिला उद्यमशीलताको विषयमा देशभरी माबै नभएर विश्वभरी जुनसुकै ठाउँमा नेपाली पहिचान, नेपाली उत्पादन, नेपाली संस्कार र संस्कृतिको विकास गर्ने प्रमुख योजना रहेको छ । हामी पछिल्लो समयमा पाश्चात्य संस्कृतिमा रुमलिरहेको अवस्था छ । त्यसो हुँदा नेपाली महिलाहरुको संस्कार र संस्कृतिलाई पनि अघि बढाउने योजना रहेको छ ।