इटहरी । समाज सुधारक धरणीधर दाहालको ९६औं जन्मजयन्तीका अवसरमा साहित्यकार लीलबहादुर क्षेत्री र बाल आश्रमकी सञ्चालिका गीता गौतम सम्मानित भएका छन् ।
धरणीधर दाहाल स्मृति प्रतिष्ठान र इटहरी साहित्यिक समूहले संयुक्त रुपमा आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा आफ्नो क्षेत्रमा उत्कृष्ठ कार्य गरेको भन्दै सम्मानित गरिएको हो ।
प्रदेश १ सभाका सभामुख बाबुराम गौतमले दोसल्ला तथा प्रमाणपत्र तथा नगदसहित सम्मान गरेका हुन् । क्षेत्रीलाई ५० हजार रासीको धरणीधर दाहाल स्मृति पुरस्कारबाट सम्मानित गरिएको थियो । उनको सम्मानपत्र उनका छोरा पल्लभ क्षेत्रीले ग्रहण गरेका थिए ।
यस्तै इटहरी निसहाय बालबालिका सेवा आश्रम सञ्चालन गरेर समाजसेवा श्रेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै आश्रम सञ्चालिका गिता गौतमलाई ३५ हजार राशीको धरणीधर दाहाल स्मृति पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
इटहरी साहित्यिक समूहका अध्यक्ष हेमन्त गौतमको अध्यक्षतामा भएको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा धरणीधर स्मृति प्रतिष्ठानका संयोजक ज्ञानेन्द्र दाहाल, साहित्यकारहरु प्रा.डा. बद्रीविशाल पोखरेल, शिक्षासेवी तथा साहित्यकार लेखनाथ घिमिरे, साहित्यकारहरु कृष्णविनोद लम्साल, कृष्ण अधिकारी कलाकार विक्रमश्री लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।
सोही कार्यक्रममा निःसहाय बालबालिका सेवा आश्रमका तर्फबाट २५ हजार रुपैया राशीको शालिग्राम सरोज सिर्जनशिल पुरस्कारबाट बरिष्ठ साहित्यकार लिलबहादुर क्षेत्रीलाई सम्मानित गरिएको थियो ।
धरणीधर दाहाल इटहरीका समाजसुधारक हुन् । भारतको सिक्किममा समेत उनलाई समाजसुधारक र सामाजिक अगुवाको रुपमा चिन्छन् । इटहरीमा रहँदा उनले यहाँको विकास निर्माणदेखि शिक्षा र साहित्यमा विशेष योगदान दिएका थिए । उनको स्मृतिमा प्रतिष्ठान नै स्थापना गरि वार्षिक रुपमा पुरस्कार वितरण कार्यक्रम गर्ने गरिएको छ भने इटहरी मेट्रिक्समा उनको स्मृतिमा सभाहल बनाइएको छ । जहाँ विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरिन्छ ।
उनलाई इटहरीमा नागरिक अभिनन्दनसमेत गरिएको थियो ।