‘घात अन्तरघात गरेर अवसरबाट वन्चित गरियो’

न्युजलय १९ बैशाख २०७९, सोमबार ०१:५२ मा प्रकाशित

स्थानीय तहको निर्वाचनको टिकटको रस्साकस्सीको बिचमा सुन्दरहरैंचाकी इशरवतीकुमारी माझीले नेपाली काँग्रेसबाट उपमेयरको टिकट पाइन् । उनलाई सबैले बधाई पनि दिए । तर उनले पाएको बधाई २४ घण्टा टिक्न पाएन । उनले उम्मेदवारी दर्ता गर्न पाइनन् । टिकट पाउँदा पाउँदै पनि मनोनयन दर्ता गर्न नपाउनुका पछाडी धेरै हल्ला चले । मेयर उम्मेदवार शिव ढकालले आफ्नो राजनीतिक स्वार्थका लागि आफुखुसी गठबन्धन गरेको आरोप पार्टीको नगर समितिले लगाउँदै आएको छ ।माझीले भने आफूलाई कसैले सहयोग नगरेको बताउँदै आएकी छिन् । पार्टीभित्रको अन्तरविरोध चुनाव नजिकिएसँगै चर्किँदै गएको छ । यसै विषयमा हामीले उनीसँग गरेको कुराकानीको सार संक्षेप –

धेरै मानिसहरु टिकट पाउन रस्साकस्सी गरिरहेका बेलामा तपाइलाई पार्टीले टिकट दियो, तर मनोनयन दर्ता गर्नुभएन किन ?

सुन्दरहरैंचामा पनि गठबन्धनको हल्ला पहिलेदेखि नै थियो । यसपटक मलाई टिकट दिने भन्ने कुरा त थियो, तर गठबन्धन भयो भने आश नगर्नु, चित्त नबुझाउनु भन्ने कुरा पनि आएको थियो । अन्तीमसम्म पनि गठबन्धनको आधिकारीक कुरा नआएपछि र मैले टिकट पाएको खबर आएपछि मैले उम्मेदवारी दर्ता गर्नको लागि फर्म भरेँ । तर, मतदाताको परिचय कार्ड घरमै छुटेछ । छोराछोरीले नभेटेपछि आफै पुगेँ । फर्केर आउँदा न फर्म, न चिठि । मैले उम्मेदवारी दर्ता गर्न नै पाइनँ ।

त्यसपछि यस्तो भयो भनेर कसैलाई भन्नुभएन ?

साथीहरुलाई भनेँ । तर कसैले वास्ता गरेनन् । समय सकिसकेपछि बरु चिठिको फोटो सामाजिक सञ्जालमा आइरहेको छ । त्यतीखेर कसैले दिएको थियो भने मनोनयन दर्ता गर्न पाउँथे ।

चिठि र फर्म कसले गायब बनायो होला ?

चिठी कसले गायब बनायो, थाहा छैन । भरेको फर्म पनि लुकाइदियो । 

तपाइलाई उपमेयरबाट ब्याक हुनु, नगर परिषदमा लान्छु भनेर आश्वासन दिइएको छ, त्यसैले तपाईले स्वेच्छाले उम्मेदवारी दर्ता गर्नुभएन भन्ने हल्ला छ नि ?

नेपाली काँग्रेसको बहुमत आयो भने न लाने हो, नत्र कसरी लान्छ ? मलाई अघिल्लो चुनावमा पनि यस्तो आश्वासन देखाएको थियो । त्यतीखेर पनि मेयरले मेरो घरमै आएर भन्नुभएको थियो । तर लगेनन् । त्यसैले यो पटक म कसरी विश्वास गरुँ ?

के चाहिँ हो भने गठबन्धन भयो र पार्टीले पछि सर्नु भन्यो भने फिर्ता लिउँला भन्ने सोचेर उम्मेदवारी दिन खोजेको थिएँ । गठबन्धन भयो भने म उपमेयर छाड्न तयार थिएँ । 

गठबन्धन भएको भए सहज तरिकाले उम्मेदवारी छाड्न तयार थिएँ भनेर राजनीतिक उदारता तपाईले देखाउनुभयो । तर गठबन्धन नहुँदा पनि तपाइले उम्मेदवारी दर्ता गर्न पाउनुभएन, कस्तो लाग्छ ?

मलाई नराम्रै लागिरहेको छ । बरु आधिकारीक रुपमा गठबन्धन भएको भए राम्रो हुन्थ्यो । चित्त दुःखेको छ नि । ५२ सालमा क्रियाशील लिएर निरन्तरर खटेको छु । छोराछोरी पढाउँदा स्कुल पठाउँदा पनि खाना खुवाउन सकिनँ । पार्टीको लागि त्यसरी समय दिएँ । अघिल्लो पटक पनि आश्वासन मात्रै पाएँ । यो पटक पार्टीले विश्वास गरेर टिकट दिएको हो, तर पाइसकेको टिकटमा पनि घात अन्तरघात गर्ने मानिसहरुले फटाइ गरेर मलाई अवसरबाट वन्चित गरे ।

तपाइले उम्मेदवारी दर्ता गर्न नपाउनु, सुन्दरहरैंचा काँग्रेसमा गठबन्धनको अन्योल हुनु जस्तो अहिलेको अवस्था आउनुमा कसको गल्ती जस्तो लाग्छ ?

कसलाई देखाउँ ? नगरको हो कि प्रदेश समितिको हो कि ? केही भन्न सकिनँ । गठबन्धन भएको भए नगरसमितिलाई भनेर निर्णय गराउँदा हुन्थ्यो । नगरसमितिलाई थाहा नभएको गठबन्धन कसरी मान्नु ? गठबन्धनको लागि केन्द्र, प्रदेशले पनि केही जानकारी दिएको छ भने त्यो नगर र क्षेत्रलाई पनि थाहा हुनुपथ्र्यो, आधिकारिक आउनुपथ्र्यो ।

एकातिर गठबन्धन को अन्योल छ, अर्कोतिर नेपाली काँग्रेसको नगर समिति र मेयर उम्मेदवार शिव ढकालबिच पनि ठूलो टकराव छ । यस्तो विवादले चुनावको परिणाममा कस्तो असर गर्ला ?

नगरमा आधिकारीक भएन । कि त भएको भए ठिक हुन्थ्यो । त्यसैले अहिलेको अवस्थाले चुनावमा ठूलै असर पुग्ने देखिरहेको छु ।

मेयर उम्मेदवार ढकालविरुद्ध काँग्रेसभित्रै तीव्र असन्तुष्टि, भन्छन् ‘मेयर आफैले माहोल बिगार्नुभो’