काठमाडौं । नगरमा प्राथमिक स्वास्थ्य केन्द्र तथा नगर अस्पताल नहुँदा बीमाको रिफर लिन कहाँ जाने भन्ने अन्योलमा रहेका धरानवासीलाई धरानको वीपी प्रतिष्ठानमै जँचाउन पाउने भएका छन् । प्रथम सेवा विन्दु नहुँदा समस्या परेका स्थानका केन्द्रीय सरकारी अस्पतालमा प्रथम बिन्दु कायमै रहने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।
पौडेलले लेखेका छन्, ‘स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु हट्दा नागरिकलाई परेको कठिनाइ सम्बोधन गर्दै नजिक प्रथम सेवा बिन्दु नभएर सेवा लिन अप्ठ्यारा पर्ने स्थानहरूका केन्द्रीय सरकारी अस्पतालमा प्रथम बिन्दु कायमै रहने गरी व्यवस्था मिलाएका छौं ।’
धरानमा नगर अस्पताल र प्राथमिक स्वास्थ्य चौकी नहुँदा धरानवासीले रिफर लिनको लागि इटहरी, बराहक्षेत्रलगायत नगरमा जानुपर्ने बाध्यता बनेको थियो । त्यसविरुद्ध धरानवासीले आन्दोलन र प्रदर्शन नै थालेका थिए । प्रतिष्ठानबाट पाउँदै आएको सेवा कायम राख्नुपर्ने माग गर्दै आएका थिए ।
अब नजिकै प्रथम सेवा बिन्दु नभएका स्थानमा वैकल्पिक व्यवस्था नहुँदासम्म केन्द्रीय सरकारी अस्पतालहरुमा नै प्रथम सेवा बिन्दुको सुविधा उपलब्ध गराइने भएको छ ।