२०७८ साल माघ ६ गते बिहिबार

कोशी कटानमा तरुल खेति

शंकर खत्री ३० पुस २०७८, शुक्रबार ०८:३४ मा प्रकाशित
इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ को धरहरादेखि राजाबास बजारसम्म सडकको दायाँ बाँया विशेषतः कोशी नदि किनारमा तरुलको झ्याङ छन् । यो क्षेत्रका अधिकांश मानिसहरुको पछिल्लो पेशा नै तरुल खेति बनेको छ । विगत ५ वर्ष पहिलादेखि यहाँका मानिसहरुको कोशी नदिले कटान गरेको क्षेत्रमा तरुल खेति गर्दै मनग्गै आमदानी गरिरहेका छन् । 

कोशी नदिले कटान गरेको ठाउँमा बलौटे फुको माटो छ । तरुल खेतिका लागि यहि माटो उपयुक्त हुन्छ । सोहि कारण कुनै समय रुख र खाली रहने कोशी कटान क्षेत्रमा स्थानीयले तरुल खेति गर्न थाले । कोशी नदि कटान क्षेत्र भएको र अरु बाली उब्जाउन नसक्ने भएकाले तरुल खेतिमा लागेको सोहि ठाउँका स्थानीय बाघविर लिम्बु बताउँछन् । काठमाडौँबाट आएका एक जना गुरुङ्ग दाईले तरुल खेति गर्न स्थानीयलाई जागरुक बनाएको उनले बताए । सोहि कारण काठ दाउरा विक्रि गरेर वार्षीक मुस्किलले ५ हजार आमदानी गर्ने यहाँका स्थानीयले बार्षीक लाख बढी आमदानी गर्न थालेको उनले सुनाए । 

‘यो कोशीले बगाउँ ठाउँ हो । अरु उब्जा हुँदैन’, उनले भने, ‘पहिला त हाम्रो केहि थिए । त्यहि अलिअलि खर र सिसौ पालेका थियौँ । त्यसले हल्काफुल्का ४÷५ हजारको आमदानी हुन्थ्यो । राजाबासमा काठमाडौँबाट आउनुभएका एक जना गुरुङ दाईले पहिला यहाँ तरुल खेति गर्नुभएको हो । उहाँले कहाँबाट विउ ल्याएर सबैलाई सिकाउनु भयो । उहाँले लु तरुल खेति गर्नुस् यहाँ तरुल खेति हुन्छ भनेर भन्नु भयो । अनि हामीले पनि तरुल खेति गर्न सुरु गरेका हौँ ।’ सुरुवाति समयमा त तरुलबाट खासै आमदानी नभएको अनुभव उनिसँग छ । त्यसको कारण भने उनलाई अज्ञानता र तरुल खेति गर्ने विधिका थाहा नपाउनु लाग्छ । हरेक काम गर्दै जाँदा सिकिन्छ भने झैँ लिम्बुसँगै यहाँका स्थानीयले पनि यहि कुरालाई अनुसरण गरे । अहिले भने उनिहरुले सोचे भन्दा अधिक आमदानी गरेका छन् ।

‘सुरुसुरुमा रोप्दा अलि जानिएन पनि । ढंग पुगेन । थोरै–थोरै आमदानी भयो’, उनले भने, ‘त्यसपछि हामीले राम्रो गर्दै लग्यौँ । खेति गर्न पनि सिक्यौँ । अहिलेको स्थितिमा राम्रै हुन्छ । वर्ष दिनको आमदानी हाम्रो तल्लो कलमको १५÷२० हजारदेखि लाख माथिसम्म हुन्छ । त्यो चाहिँ मान्छेको जग्गा अनुसार हुन्छ । धेरै जग्गा हुनेले त कुनै वर्ष अढाइ लाखसम्मको तरुल बेचेका छन् यहाँ ।’ यस क्षेत्रका अधिकांश स्थानीयको पेशा नै अहिले तरुल खेति बनेको छ । एक पटक रोपेपछि अतिरिक्त खर्च र परिश्रम नलाग्ने हुँदा लगानि कम र आमदानी उच्च हुन्छ । सोहि कारण तरुल खेतिसँगै यहाँका स्थानीयले अन्य खेतिलाई पनि मनग्गै समय दिन पाउँछन् । 

यो वर्ष भने तरुल उत्पादनमा केहि कमि भएको छ । हामीले माथि उल्लोख गरे जस्तै तरुल खेतिका लागि सुख्खा र पानी पुग्ने उच्चा ठाउँ आवश्यक पर्छ । यो वर्षको कात्तिक पहिलो साता आएको बेमौसमी वर्षासँगै आएको बाढी कारण यहाँ तरुल उत्पादक किसानलाई क्षति पुगेको छ । सोहि कारण गत वर्षको भन्दा आमदानी आधा कम भएको छ । ‘यसपालि चाहिँ यो कात्तिके पानी पर्यो । यसले डुबान गर्यो । जुन तरुल बढ्ने बेला थ्यो त्यो बेला बोट नै मर्दियो’, उनले भने, ‘त्यसले गर्दा यो वर्ष अलि थोरै आमदानी भयो । मैले ६२ हजारको बेचे । पोहोर ९२ हजारसम्मको बेचेको थेँ ।’ यो वर्षको बेमौसमी वर्ष मात्रै उनिहरु लागि अभिषाप बनेको छैन, जंगली जनावरले पनि यहाँका किसानलाई सास्ति दिँदै आएको छ । तर, यो क्षेत्रमा सबैभन्दा बढी हात्तीको डर हुन्छ । हात्तीबाट बालि जोगाउन तरुल उपुयुक्त विकल्प बनेको लिम्बुले सुनाए । 

‘यो तरुल पनि समयको फल जस्तै हो । कुनै साल हुँदैन । अलिकति हामीलाई यो जंगलबाट दुम्सि र बँदेल आउँछ’, उनले भने, ‘एक साल त बँदेलले हाम्रो सबै तरुल सखाप पारेका थियो । दुई सालदेखि बँदेल पनि निस्किएको छैन । यस बाहेक हामीलाई केहि डर छैन् । न हात्तीले खान्छ न अरु केहिले । एकदम सुरक्षित खेति छ ।’ जंगली जनावारबाट जोगाउन सके र मौसमले साथ दिए तरुलबाट आसातित आमदानी हुने लिम्बुको अनुभव छ । 

यो ठाउँमा सबैभन्दा बढी तरुल उत्पादकको ताज भने लिम्बुका बैनि ज्वाइँ गोपाल राईलाई जान्छ । यो वर्ष मात्रै गोपाल राईले डेढ लाखको तरुल उत्पादन गरेका छन् । यो ठाउँकै बढी तरुल उत्पादन गर्ने भएकाले यो ठाउँका उनिका साथीहरु उनलाई ‘तरुल राई’ भन्दै ठट््यौली गर्छन् । उनले १० कठ्ठा क्षेत्रफलमा तरुल खेतिगर्दै आएका छन् । ‘लगभग १० कठ्ठामा रोपिएको थियो । यो वर्ष पानीले गर्दा अलि राम्रो भएन’, राईले भने, ‘विउ छोडेर ८२ मन बिक्रि गरेँ । लगभग डेढ लाख जतिको बेचियो ।’ तरल खेति गर्न सजिलो रहेको उनको अनुभवले सिकाएको छ । बिउ, प्राङ्गारीक मल र आफ्नै मेहनत भए तरुल खेतिका लागि काफि हुने उनि सुनाउँछन् । ‘मेरो लगानि भने मेहनत र विउ मात्रै हो’, उनले भने, ‘यसमा अरु मजदुर लाउनु पर्दैन । लगानी भनेको आफ्नै मेहनत मात्रै हो ।’

बार्षीक रुपमा तरुल खेतिबाट हुने आय दोब्बर बढ्दै गएको उनले सुनाए । उनले तरुल खेति गरेको ५ वर्ष पुगेको छ । पहिलो वर्ष ४ हजार आमदानी गरेका राईले अहिले आएर बार्षीक डेढ लाख आमदानी गरेका छन् । ‘सुरुमा ४ हजारको बेचेको थेँ । त्यहाँदेखि बढ्दै बढ्दै गयो’, उनले भने, ‘दोस्रो साल १४ हजार, तेस्रो साल २८ हजार यस्तै दुई गुणा हुँदै आयो आमदानी । यसपालि अलि ज्यादा आमदानी भयो । अहिलेसम्मकै धेरै यहि वर्ष भयो । मैले डेढ लाखको बेचे ।’ लिम्बु र राई जस्तै यहाँका अन्य किसान पनि खेति गरेको क्षेत्रफलका आधारमा आउने उत्पादन र आयबाट मख्ख छन् । केहि वर्ष पहिलासम्म खाली रहने जमिनबाट आमदानी हुनथालेपछि यहाँका किसानहरु बार्षीक रुपमा खेतिको क्षेत्रफल बढाउँदै लैजान थालेका छ । गत वर्ष मात्रै प्रकाशपुर र राजाबासका किसानले एक करोड हाराहारीको तरुल विक्रि गरेका छन् । 

कोशीको तरुल कालिमाटिमा 
किसानलाई बजार अभावको समस्या प्रायः नेपालमा मात्रै नभएर विश्वमा नै साझा हो । तर यहाँका किसानले भने बजार अभावको समस्या खेप्नु परेको छैन । सुरुवाती वर्षदेखि नै यहाँका किसानले उत्पादन गरेको तरुले बजार पयो । विशेषगरि माघे संक्रान्तिमा तरुलको माग बढी हुन्छ । यहि कारण केहि दिन पहिला नै यहाँको सम्पूर्ण तरुल विक्रि भइसकेको छ । यहाँ उत्पादन हुने अधिकांस तरुल काठमाडौँको कालिमाटी बजारमा पुग्ने राईले जानकारी दिए । त्यहाँबाट थोक व्यापारी यहिँ आउने गरेको उनले जानकारी दिए । घरबाट नै थोक व्यापारीले प्रति केजी ४५ रुपैयाँका दरले खरिद गर्ने गरेका छन् । 

लागत कम आय धेरै
हामीले माथी उल्लेख गरे झैँ तरुल उत्पादनका लागि खासै लागत लाग्दैन । तरुल उत्पादनका लागि सुख्खा तथा उच्च ठाउँ, विउ, घरायसी मल र आत्मबल भए पुग्छ । त्यसबाहेक तरुल उत्पादनका लागि केहि लाग्दैन । ‘हाम्रो लागत केहि छैन । आफ्नो मेहनत र विउ मात्रै हो’, बाघविर लिम्बुले भने, ‘त्यसबाहेक केहि लागत लाग्दैन । न यसलाई गोड्नुपर्छ न त मलजल गर्न गर्नुपर्छ । रोपेपछि यसमा खासै केहि गर्नु पर्दैन ।’ अरु खेति गर्दा लागत धेरै लाग्ने भएकाले आमदानी खासै नहुने र तरुल खेति त्यसको विकल्प भएको उनको भनाइ छ । अझ यहाँका किसानले त खेर गएका भिरालो पाखाहरुमा खेति खेति गर्दै आएका छन् । यो उनिहरुको अतिरिक्त आयो हो भन्दा पनि फरक पर्दैन । तरुल खेति लगाएकै ठाउँमा अन्य खेति गरेको भए मुस्किलले १० हजारको पनि आय नहुने लिम्बु बताउँछन् । घरदेखि नै ४५ रुपैयाँ प्रति केजि विक्रि हुने गरेको छ । यो मुल्य किसानका लागि झण्डै सतप्रतिसत् नाफा नै हो ।