२०७८ साल माघ ६ गते बिहिबार

कोरोना महामारी मथर भएसँगै सुनसरीमा खेलकुदका गतिविधि बाक्लिँदै

शंकर खत्री २२ पुस २०७८, बिहिबार ०२:२७ मा प्रकाशित

इटहरी । कोरोना महामारीले दुई वर्षसम्म ठप्प प्रायः रहेका खेलकुदका गतिविधि सुनसरीमा अहिले धमाधम हुन थालेका छन् । 

नेपालमा पहिलेको तुलनामा केहि महिना यता कोरोना भाइरसको संक्रमण घट्दो दरमा देखा पर्दै जानथालेपछि खेलकुदका गतिविधि सुनसरीमा बाक्लिएका हुन् । 

हुन त कोरोनाको तेस्रो साथै विश्व स्वास्थ्य संगठनले अहिलेसम्मकै घातक भन्दै आएको ओमिक्रोन भेरियन्ट फैलने क्रममा छ । तर, नेपालमा यसको असर कम रहेकाले निर्धक्क रुपमा खेलकुदका गतिविधि संचालनमा आएका हुन् । अहिले सुनसरीमा स्थानीय तहमा मात्रै होइन जिल्ला स्तरका प्रतियोगिता पनि सुरु भएका छन् । 

सोहि कारण कोरोनाकालमा घाँसे मैदान बनेका खेलमैदनहरु पनि लयमा फर्किएका छन् । जिल्लाभर लिग सञ्चालन हुनथालेपछि स्थानीय तथा जिल्ला स्तरका क्बलहरुले सक्रियताका साथ सहभागिता देखाउन थालेका हुन् ।

‘कोभिड पछाडि हाम्रो खेलकुदको गतिविधिहरु बढीरहेका छ’, सुनसरी जिल्ला फुटबल संघ ९एन्फा सुनसरी० का अध्यक्ष केशव कार्कीले भने, ‘चारैतिर मोफसलमा फुटबलका गतिविधिहरु भइरहेका छन् ।

भरखरै हामीले सुनसरी जिल्ला स्तरीय ए डिभिजन लिग सेमिफाइन पुर्याइसकेका छौँ । आज (बुधबार) देखि बि डिभिजन पनि सुरु हुँदै छ । र, यहि २४ गतेदेखि नेपालमा नै प्रख्यात गोधुली वडा कप पनि सुरु हुँदै छ ।’, उनले अगाडि थपे, ‘त्यस्तै सुनसरीको इटहरीमा फागुन १४ गतेदेखि २१ गतेसम्म इटहरी गोल्ड कप हुँदै छ । यसरी सुनसरीमा धमाधम प्रतियोगितहरु भइरहेका छन् र निरन्तर हुने छन् ।’

कोरोना महामारीले आफ्नो खेल कौसलमा ठूलो प्रभाव पारेको खेलाडीहरु बताउँछन् । कोरोना महामारीको समयमा खेलाडीलाई धेरै समस्या भएको राष्ट्रिय जागृति क्लब इटहरीका खेलाडी तथा टिम क्याप्टेन अनिस चौधरी बताउँछन् । कोरोनाले खलकुदका गतिविधि सञ्चालन नहुँदा कतिपय खेलाडी खेल क्षेत्र नै छोडेर पलाय भएको उनि सुनाउँछन् ।

 ‘यो कारोनाको बेला चाहिँ गाह्रो भयो सबै जनालाई’, क्याप्टेन चौधरीले भने, ‘खेल क्षेत्रलाई त झन् ठूलो असर पर्यो । कतिपय साथीहरु त यो लिग नभएका कारण, गेमहरु नभएको कारण विदेशीनु परेको छ । यो नेपाली फुटबलको विडम्बना हो ।’ कोरोना महामारी मथर भएर खेलहरु सञ्चालन भएपछि खेलाडीहरुलाई राहत मिलेको उनि बताउँछन् । 

‘अहिले कोरोना केहि कम भएर लिगहरु पनि सञ्चालन हुन थालेका छन् । यसले गर्दा गाउँ गाउँमा रहेका खेलाडीहरुले पनि प्ल्याटफर्म पाएका छन्’, उनले भने, ‘जे होस् यो लिगहरु सञ्चालन गर्दा चाहिँ एकदमै राम्रो भएको छ ।’ खेलाडी र खेलसम्बध व्यक्तिहरुमा मात्रै होइन् लिगहरु सञ्चालन हुन थालेपछि आम दर्शकमा पनि उत्साह थपिएको छ । 

हाल सुनसरीको इटहरीमा ए डिभिजन जिल्ला लिग जारी छ । त्यहाँ इटहरी आसपास मात्रै होइन धेरै टाढाबाट पनि दर्शकहरु खेलको मज्जा लिन आउने गरेको पाइएको छ । कोरोनाका कारण खुल्ला मैदानमा गएर खेल हेर्न नपाएको तिर्खा अहिले दर्शकहरुले पनि मेटिरहेका छन् । ‘यो कोभिड पछि खेलहरु हेर्न पाउँदा हामी उत्साहित भएका छौँ’, मोरङको बेलबारीदेखि इटहरी रंगशालमा खेल हेर्न आएका विवेक पोखरेलले भने, ‘इटहरीमा कोरोनापछि सायद यो पहिलो खेल भइरहेको छ होला । 

त्यहि भएर म पनि वेलबारी देखि खेल हेर्नकै लागि भनेर यहाँ आएको छु ।’ उनले यस्ता खेलका गतिविधिहरु अव नियमित रुपमा गर्नुपर्ने बताए । जसले खेलाडीलाई मात्रै नभएर आम दर्शकलाई पनि फाइदा पुग्ने उनको भनाइ छ ।