श्रीमान् चोलेन्द्र शमशेर ज. ब. रा. ज्यु, कुनै पनि संस्थाले अविच्छिन्न उत्तराधिकारवालाको धारणाअनुसार निरन्तरता पाएको हुन्छ भन्ने सुनेको छु । सायद कुरो ठिकै होला किनकि हजुरका जिजुबाजे श्री ३ साहेबहरुको रजगज हुँदा हाम्रा पुर्खा नेपाली रहेछन् । श्री ५ महेन्द्र साहेवको रजगज हुँदा हाम्रा हजुरबुबा नेपाली नै रहनु भएछ । श्री ५ विरेन्द्र साहेबको रजगज हुँदा मेरो बुबा नेपाली नै हुनुहुन्थ्यो । आज गाउँगाउँका श्री ५ साहेबहरुको रजगजको जमानामा पनि नेपाली नै रहेको छु । अथवा संस्था उहीँ पात्र परिवर्तन हुँदा रहेछन् ।
यसरी हेर्दा त सांसद समाप्त भएको होइन नि श्रीमान् त्यो संस्थाका पात्र परिवर्तन हुन लागेका हुन् । अहिलेका पात्रहरूले श्रीमान् लाई महाअभियोगको पासो थाप्ने काम गरे यो उनीहरूको विवेक हो । नयाँ पात्रहरुले पासोबाट निकाल्ने कि खोरमा पार्ने काम गर्ने छन् । त्यो उनिहरुको विवेक हुनेछ । कुन नियतले महाअभियोग लाग्यो त्यो आफ्नो ठाउँमा छ ।
कालोलाई गोरो भनिँदैछ कि कालोलाई कालो भनिँदैछ अलग कुरा हो । त्यस सम्बन्धमा तपाईँको न्यायलयले जानोस् । तपाईँले फर्काएका जागिरेहरुले जानून् । तर, कानुनको ‘क’ सम्म नपढेका हामी जस्ता अनपढ नागरिकले पनि प्रष्ट बुझेको कुरा के हो भने हजुरको परमादेशले स्थापित संसदले महाअभियोगको टुंगो लाउन नपाउँदै उसको म्याद गुज्रिएकै कारण हजुरले कसरी न्यायलयमा फर्किएर परमादेशका फुल उठाउन शुरु गर्न पाउनु हुन्छ ?
श्रीमान्, अब हजुर चुपचाप घरमा बसेर सोह्र श्राद्धद्को तिथि पर्खिएरर एकभक्त एकचित्त भएर आफ्ना पितृको सम्झना गर्नुपर्ने हुन्छ । नौरथाभरि चन्डीपाठ पारायण गरेर आत्मशुद्धि गर्नुपर्ने हुन्छ । कोजाग्रत पुर्णिमासम्म मान्यजनबाट महाअभियोग सामना गर्न सक्नेगरीको आशीर्वाद थाप्नुपर्ने हुन्छ । कोजाग्रत पुर्णिमाका दिन आँखा झिमिक्क नगरी खेल्नु परे जुवा खेलेर जुवा जितेर फलिफाब लिनुपर्ने हुन्छ । कार्तिक महिनामा कालीनागको दर्शन गर्नबाट जोगिएर अगती पर्नबाट बच्नुपर्ने हुन्छ । कुर्सी चढीहाल्न हतारिनु हुन्न ।
श्रीमान्, यत्रो महाअभियोगको दशा त्यति सजिलै कहाँ टर्छ र हजुर? एउटा पूरा महिना कालो कार्तिकको पर्खिनुपर्ने हुन्छ । रातभर फेरी लाउने जोगिलाई फलाम सहितको सिधा दिएर ग्रह गर्ने दान गर्न बाँकी नै छ । सधैँ हजुरको चिरञ्जीवी आयुको कामना गरेर सप्तरङ्गी टीका लगाई दिने श्री ३ चेलीबेटीहरूलाई यसपालि श्रीमान् पाँचवाला कुर्सीको आयु बढाउने कामना गरिबक्सियोस् भन्नु पर्ने हुन्छ । त्यतीले पुग्दैन श्रीमान्, यो दशा परमादेशको बाजा झ्याईँझ्याईँ बजाउँदै आएको दशा हो ।
सारा नेपालीको मगजमा फैलिएको छ । देउसे भैलेले नेपालीहरूबाट ‘महाअभियोगबाट छुटकारा मिलोस्’ भन्ने आशिषको वर्षा हुनुपर्छ । बरु दक्षिणा धेरै थप्नु पर्ला थपि दिए बेस हुन्छ । रहल पहल कार्तिकको दशा ग्रह जुवामा हारेर भए पनि कटाउनु पर्ला । पात्रहरूको पद पत्र च्यातिने बित्तिकै तपाईंको पदवहाली पत्र लिन हतार किन ?
श्रीमान्, यस्तै हो यसो त्यसो कार्तिकका ग्रह दशा कटे भने मङ्सिर मलिलो महिना हो । मङ्सिरमा अलौकिक कालीनागको दर्शन गरेर गति पर्न सकियो भने ग्रह दशाको प्रभाव घटाउन सकिन्छ । ढक्कीवाला सपेरा दाइलाई मङ्सिर महिनाका लागि कालकुटवाला शिवजीको माला कालो गोमन राजा सुरक्षित थुनेर राख्न भन्दै गर्नुपर्ला ।
गति परेर महाअभियोगको दोष घटाउने गज्जबको सुझाव मेरो तर्फबाट निःशुल्क छ हजुर । मङ्सिर लाग्ने बित्तिकै हरियो मङ्सिरे काँक्राको चिरो नुनमा चोबेर ज्युनार गर्नुहोला । त्यस महिनाका बाँकी दिन परमादेशी आदेश लेखाउनेले गलगाँड बन्धनले जित्यो कि हार्यो । केटाकेटी केटाकेटीका बाले जिते कि हारे भनेर च्यानल पल्टाइपल्टाइ हेर्दाहेर्दै बितिहाल्छ । आजै सिंहासनमा चढेर गर्जिन हतार किन हजुर ?
म्याडम राणा ज.ब.रा. ले ठुली एकादशीको व्रत बसेर फलाहार खाए महाअभियोग दशाको दोष कम हुन्छ भनेर अनुरोध गरी बक्सियो भने आदेश खारेज गरी नबक्सियोस् । यो साढेसातको शनि सङ्कटामा हजुर निर्दोष होइसिन्छ भन्ने एक्लो बृहस्पति म्याडम राणा ज.ब.रा. मात्र हो । वहाँका ग्रहले हजुरका ग्रहदशालाई अलिक ठिकठाक पार्न मद्द्त मिल्न सक्ला । पुस त फास फुस, काठमाडौको जाडोमा सिरक ओडेर एकै पोको परे कति खेर सकिन्छ थाहै हुन्न । हजुरलाई त्यति असहज नहोला ।
यो महाअभियोगको कालचक्र न आउनु पर्ने थियो आई लागि गयो । परमादेशी समुहले टुङ्गो लाएन त्यसैले हजुरलाई अलि राहत भयो नि श्रीमान् । तातै खाउ जलीमरु किन गर्न पर्यो हजुर । धैर्य गरिस्यो । रात रहे अग्राख पलाउन सक्छ । परमादेशी गलगाडले सोरपटार पारेर उनिहरुले भने जस्तै भुराभुरीका बाको बिजोक वनाएछ भने दुरभाग्य नै रहेछ भनौला ।
पहिलो दिन नै हजुरको पेन्सन सहितको जागिर चैट नै हुन्छ । तर त्यसो भएनछ भने सम्भावना अनगिन्ती हुन्छन श्रीमान् । केटाकेटीका बाले श्रीमानलाई मात्र किन ? श्रीमान पाँचलाई नै बहिरगमन गर्नु पर्छ भनी सकेकाले एक्लै बहिरगमनमा परेर लज्जा ब्यहोर्नु पर्दैन । आफू डुब्दा डुब्दै सबैलाई डुबाउन पाइने छ । त्यसो गर्दाको मज्जा बेग्लै हुन्छ । त्यो पनि एक प्रकारको जित नै हो । ज्वाइँ साहेब, जेठान साहेब, सालाजी, साली, भाई, भतिजा, भतिजीको संख्या उल्लेख्य भएछ भने खेलको अर्को मोड देखाउन पाईने छ ।
मुख्य कुरा त नयाँ नौतान सरकार बनाउन सकस परेको झ्वाकमा ‘झयाम्मै राजिनामा दिस्यो इज्जत जोगाईस्यो’ भन्ने ग्रान्ड अफर फेरी आउँछ । त्यति नै गर्ने हो भने त घुर्क्याई घुर्क्याई मकर सक्रान्ती नुहाएर शुद्ध भएर पनि गर्न पाईयो नि १ होइन हजुर । जावो दुई चार महिनाको दन्डपाणी बन्न किन हुटहुटी हजुर ।
अन्त्यमा, जय न्यायलय !