पूर्व–पश्चिम राजमार्गबाट इटहरीलाई ठूलो जोखिम !

रामप्रसाद चौलागाई ८ असार २०८२, आइतबार ०३:१९ मा प्रकाशित

इटहरी, कोशी प्रदेशको एक महत्वपूर्ण व्यापारिक र आवासीय केन्द्र । हाल पूर्व–पश्चिम राजमार्गको चार लेनको ओभरपाससहित स्तरोन्नति र उत्तर–दक्षिण छ लेनको व्यापारिक मार्गको निर्माण कार्यले विकासको नयाँ चरणमा प्रवेश गर्दैछ । यो अन्तरदेशीय राजमार्गको महत्व छुट्टै छ । इटहरीकोलागि भने यसबेला मुख्य चोकमा ओभरपासको डिजाइन कस्तो हुने भन्ने कुराले यो राजमार्ग चर्चामा छ । यसको बाँध संरचनाका कारण यातायात, व्यापार र सौन्दर्यमा पार्ने प्रभावबारे बहस भइरहेको छ । तर यो राजमार्गको कारण हुनसक्ने “बाढी र डुबान” बारे कुनै कसैले चासो दिएको देखिँदैन । 


खासगरी यो राजमार्गको जस्तो संरचना छ, त्यसले इटहरीमा वर्षामा आउने बाढीलाई रोक्ने र त्यसले डुबानको जोखिम अझ बढाउने सम्भावना छ । इटहरी उपमहानगरपालिका, राजनीतिक दलहरू र नागरिक समाज सबैले यसलाई मुख्य समस्याको रूपमा पहिचान गर्न र समाधानका उपायहरू खोज्नमा बेवास्ता गरिरहेका छन् । यो समय इटहरीलाई बाढी र डुबानबाट दीर्घकालीन रूपमा सुरक्षित बनाउने सुनौलो अवसर हो, किनकि आगामी ५० वर्षसम्म यस्तै संरचना रहनेछन् । यदि अहिले नै ध्यान दिइएन भने, भविष्यमा यसको भयावह परिणाम भोग्नुपर्ने निश्चित छ ।


इटहरीमा बाढी र डुबानको त्रि–स्तरीय प्रकोप– इटहरी उपमहानगर क्षेत्रमा बाढी र डुबानको प्रकोपलाई तीन मुख्य तहमा वर्गीकरण गर्न सकिन्छ, जसको कारण र प्रभाव फरक–फरक छन् :


१. पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फको भागः यो क्षेत्र बाढी र डुबानबाट सबैभन्दा बढी प्रभावित हुन्छ । महाभारत पर्वत श्रृंखलाबाट बग्ने पानी, भावर क्षेत्र, चारकोशे जंगल र नगरको आवादी क्षेत्रमा परेको वर्षाको पानी राजमार्गका पुल र कलभर्टहरूबाट सहज रूपमा निकास हुन नसक्दा राजमार्गले एउटा ठूलो बाँधको काम गर्छ । यसले गर्दा पानी जम्मा भई यो भाग थप डुबानमा पर्छ ।


२. राजमार्ग दक्षिण र चतरा नहर उत्तरतर्फको भागः यो क्षेत्र तुलनात्मक रूपमा कम प्रभावित हुन्छ । तर, जब पूर्व–पश्चिम राजमार्गमाथिबाट पानी उलाउ भएर (कजवेमा जस्तै) बाढी बग्न थाल्छ, त्यस अवस्थामा चतरा नहरले सहायक बाँधको रूपमा बाढीको वेगलाई अवरोध पु¥याउँछ । यसले गर्दा यस क्षेत्रमा पनि बाढी र डुबानको प्रकोप देखिन्छ ।


३. चतरा नहर दक्षिणतर्फको भागः यो क्षेत्रमा भने माथिका दुवै क्षेत्रको तुलनामा बाढी र डुबानको असर न्यून रहेको पाइन्छ । यसको मुख्य कारण पानीको प्राकृतिक बहावमा कम अवरोध हुनु हो ।

यो विभाजनले स्पष्ट पार्छ कि इटहरीमा बाढीको समस्या केवल अत्यधिक वर्षाको कारणले मात्र नभई, मानव निर्मित संरचनाहरू – विशेष गरी पूर्व–पश्चिम राजमार्ग – ले पानीको प्राकृतिक निकासमा अवरोध सिर्जना गर्दा अझ जटिल बनेको छ ।


अव्यवस्थित संरचना र ऐतिहासिक बाढीको प्रभाव

इटहरीको पूर्वमा रहेको बुढी खोला पुल अहिलेसम्म बाढीको बाधक बनेको देखिएको छैन । तर, त्यस पश्चिमका टेंग्रा खोला, खेती खोला, पचरुखी कलभर्ट, बालग्राम कलभर्ट, भत्केको पुल, पकली कलभर्ट र कान्छी चोकको हक्राखोला पुल जस्ता मुख्य पुल र कलभर्टहरू नै बाढीको मुख्य कारक हुन् ।


यी संरचनाहरू साना भएकोले वर्षात् र बाढीको पानी सहज रूपमा निकास हुन नसक्दा राजमार्ग नाघेर बाढी बग्ने गरेको छ । २०७४ साल साउनको अन्तिम हप्ता र २०७८ कात्तिकको पहिलो हप्तामा इटहरीमा आएको बाढी प्रकोपलाई कसैले बिर्सेका छैनौं । ती दुवै बाढी आजसम्मका अपूर्व मानिन्छन् । त्यसबेला पूर्व–पश्चिम राजमार्ग खण्डमा औसत डेढ फिटभन्दा बढी र इटहरी–विराटनगर खण्डमा अझ बढी सडक भन्दा माथिबाट बाढीको प्रकोप देखिएको थियो । ती प्रकोपहरूको प्रवाह, क्षति र प्रभावबारे कुनै गहन अध्ययन भयो वा भएन भन्ने प्रश्न अनुत्तरित नै छ ।


अझ चिन्ताजनक कुरा के छ भने, अहिले पूर्व–पश्चिम राजमार्गको स्तरोन्नती हुँदैछ । यसको निर्माण सम्पन्न हुँदा साविकको भन्दा औसत डेढ फिट (१८ इन्च) अग्लो बन्दैछ । यसले भविष्यमा पानीको निकासलाई थप जटिल बनाउन सक्छ । त्यहाँका बन्ने पुल, कलभर्ट र ह्यूमपाइपहरु साविककै स्तरका बन्दैछन् वा २०७४ साल साउनको अन्तिम हप्ता र २०७८ कात्तिकको पहिलो हप्ताको जस्तो अपूर्व बाढी पछीको अवस्था अध्ययन गरी तथ्यांक अध्यावधिक गरियो वा गरिएन ? 


हाइवे डेढ फिट अग्लो बन्दैछ तर यहाँका बन्ने पुल, कलभर्ट र ह्यूमपाइपहरु साविककै बमोजिम निर्माण भएमा बाढीनिकास हुन नसकेर डेढ फिट अग्लो राजमार्गभन्दा डेढ फिट माथीबाट बाढीको पानी बग्नु पर्ने अवस्थामा भएमा इटहरी डुबानको अवस्था अकल्पनिय र भयावह हुनेछ । यसकारण इटहरी क्षेत्रभरी हाइवेमा बन्ने पुल र कलभर्टहरूबाट जस्तो सुकै वर्षाद र बाढीको पानी सहज रूपमा प्रवाहित र निकास हुने गरी साविकभन्दा गहिरो र बढी चौडाइको बनाउनु आवश्यक छ । हाइवेका ह्यूमपापाइपहरु हटाएर कलभर्ट बनाइनु पर्दछ । उदाहरण षडानन्द कलंकी चोक र प्रदेश ट्राफिक कार्यालय विचमा भएको ह्यूमपाइप हटाएर १० मि. पुल नै बनाउनु आवश्यक छ ।


यसका अतिरिक्त, राजमार्गसँगै निर्माण भएका कुलो, पैनी वा पानीका स्रोतहरूको प्राकृतिक बहावलाई  अन्यत्र मोडेर परम्परागत निकास कलभर्टहरू पुरेर बन्द गरिएका छन् । त्यसलाई अनिवार्य खोल्नुपर्छ । उदाहरणका लागि, पचरुखीदेखि पूर्व ट्राफिक जनताबस्ती चोकसम्मको एक किलोमिटरको दूरीमा १० वटा कलभर्ट रहेका छन् । यी कलभर्टहरूबाट जुन–जुन स्रोत र बढीको पानी प्राकृतिक रूपमा बग्न दिनु पनि एक महत्वपूर्ण समाधानको उपाय हुन सक्छ । यदि यी प्राकृतिक निकास मार्गहरूलाई पुनर्जीवित गर्न सकिएन भने, नयाँ संरचनाहरूले मात्र समस्या समाधान गर्ने छैनन्, बरु अझ बढाउन सक्छन् ।


जलवायु परिवर्तन, अव्यवस्थित विकास र दिगोपनको प्रश्न

जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा यस क्षेत्रको वर्षाको मात्रा, नदीहरूमा पानीको बहावमा हुन सक्ने परिवर्तन र त्यसबाट उत्पन्न हुने खतरालाई आँकलन गरी अद्यावधिक योजना तथा डिजाइन भएको हो वा होइन भन्ने गम्भीर प्रश्न खडा भएको छ । सायद अध्ययन र अद्यावधी नगरिएकै कारण गत वर्ष २०८१ को तीन महिनाको वर्षा अवधिमा मात्रै देश भर निर्माण सम्पन्न भइसकेका र कतिपय निर्माणाधीन अवस्थाका २१ वटा पुल भत्किएका थिए । यसरी पुलहरू भत्किँदा दुई अर्बभन्दा बढी सम्पत्ति नोक्सानी भएको अनुमान गरिएको छ । यसले हाम्रो विकास निर्माणको कमजोर पक्ष र दूरदर्शिताको अभावलाई उजागर गर्छ ।


विज्ञानलाई आधार मानेर गरिएको विकास मात्र दिगो, भरपर्दो र सहज हुने गर्दछ । दुःखको कुरा, अहिलेको समयका विकास निर्माण त झन् पहुँचको भरमा राज्यको संयन्त्र दुरुपयोग गरेर वा आफ्नै बठ्याइँमा गर्दा विनाशको प्रमुख कारण बन्दै गएका छन् । ठूला आयोजनाहरूमा पनि नाम मात्रका EIA (वातावरणीय प्रभाव मूल्यांकन) रिपोर्ट बनाइन्छन् । वास्तवमा, सबै पूर्वाधारहरू वातावरणमैत्री हुनुपर्छ र बहुआयामिक लाभ प्रदान गर्नुपर्छ । जलवायु परिवर्तनका जोखिमलाई मसिनोसँग अध्ययन गरेर त्यसलाई थेग्ने गरी बनाइएका पूर्वाधार संरचनाहरू मात्रै दिगो हुन सक्छन् ।


सामरिक महत्वका राष्ट्रिय पूर्वाधारहरू विकास गर्दा सय वर्षमा एकाध पटक हुने बाढी जन्य प्रकोप समेत धान्न सक्ने गरी संरचनाहरू बनाउनु पर्छ भन्ने अन्तर्राष्ट्रिय सिद्धान्त छ । यो अन्तर्राष्ट्रिय महत्वको एसियन हाइवे निर्माणमा यसको कार्यान्वयन भएको हुनैपर्छ । तर, इटहरी चोकको पूर्व–पश्चिम दुवैतर्फ झन्डै ७०० मिटर लामु करिव ६ मि. अग्लो, र जुटविकास चोक र पचरुखीमा पनि आवस्यक ओभरपास बन्दै छन् । त्यस्ता संरचनाले बाढी र डुबान जन्य प्रकोपमा पु¥याउने असर र प्रभावको अध्ययन तथा मूल्यांकन भयो वा भएन भन्ने सार्वजनिक बहस आवश्यक छ ।


अब के गर्ने ? भविष्यका लागि दीर्घकालीन समाधान

इटहरीलाई बाढी र डुबानबाट बचाउनका लागि निम्न कार्यहरूमा तत्काल ध्यान दिनुपर्छः


विस्तृत अध्ययन र अनुसन्धानः इटहरीको भौगोलिक अवस्था, पानीको प्राकृतिक बहाव, ऐतिहासिक बाढीका तथ्यांक, र जलवायु परिवर्तनका सम्भावित असरबारे विस्तृत अध्ययन गरिनुपर्छ । यस अध्ययनको आधारमा मात्र वैज्ञानिक र दिगो समाधान खोज्न सकिन्छ ।


वैज्ञानिक डिजाइनः राजमार्गका पुल र कलभर्टहरूको डिजाइन गर्दा विगतका बाढीको अनुभव, पानीको बहाव क्षमता, र भविष्यमा हुन सक्ने चरम मौसमी घटनाहरूलाई ध्यानमा राख्नुपर्छ । पानीको निकास सहज बनाउन पुल र कलभर्टहरूको उचाइ र चौडाइ पर्याप्त हुनुपर्छ ।


प्राकृतिक निकास मार्गहरूको संरक्षणः पुरिएका वा बन्द गरिएका प्राकृतिक कुलो, पैनी र कलभर्टहरूलाई पुनर्जीवित गरिनुपर्छ । पानीको प्राकृतिक बहावलाई अवरोध गर्ने कुनै पनि संरचना निर्माण गरिनु हुँदैन ।


जनचेतना र सहभागिताः बाढी र डुबानको समस्या समाधानका लागि स्थानीय सरकार, राजनीतिक दलहरू, नागरिक समाज र आम नागरिकबीच समन्वय र सहकार्य आवश्यक छ । नागरिक समाजलाई यस बहस र समाधान प्रक्रियामा सक्रिय रूपमा संलग्न गराउनुपर्छ ।


दीर्घकालीन योजनाः बाढी र डुबानको समस्यालाई अल्पकालीन रूपमा मात्र नहेरी दीर्घकालीन योजना निर्माण गर्नुपर्छ । यसमा वातावरणीय संरक्षण, वनजंगलको व्यवस्थापन, र पानी व्यवस्थापनका आधुनिक प्रविधिहरूको प्रयोगलाई पनि समावेश गर्न सकिन्छ ।


पारदर्शिता र जवाफदेहिताः विकास निर्माणका आयोजनाहरूमा पारदर्शिता कायम गरिनुपर्छ र सम्बन्धित निकायहरूलाई उनीहरूको कामप्रति जवाफदेही बनाइनुपर्छ । भ्क्ष्ब् रिपोर्टहरूको गुणस्तरमा सम्झौता गरिनु हुँदैन ।


इटहरीको विकास दिगो र सुरक्षित बनाउन बाढी र डुबानको समस्यालाई अब बेवास्ता गर्न सकिँदैन । यो समस्याको तत्काल समाधान खोज्न नसकेमा भविष्यमा इटहरीले ठूलो मानवीय र भौतिक क्षति भोग्नुपर्ने निश्चित छ । त्यसैले, यो सही समय हो कि हामीले यस महत्त्वपूर्ण विषयमा गम्भीरतापूर्वक बहस गरौं र दिगो समाधानका लागि ठोस कदम चालौं । इटहरीको भविष्य हाम्रो हातमा छ ।