इटहरी । साइट क्लियर गर्न नसक्दा एसियन राजमार्ग विस्तार कार्य इटहरीमा सुरु हुन सकेको छैन ।
इटहरीको बुढीखोलादेखि लबिपुरसम्मका घर तथा संरचनाहरु भत्काउने वातावरण बनाइदिन सडक विभागले आग्रह गरीरहेपनि घरधनीहरुले भने तत्काल नभत्काउन पहल थालेका छन् । त्यसमा व्यवशायीहरुले पनि समर्थन जनाएका छन् ।
वर्षा र बाढीको जोखिम, दशैं र तिहार जस्ता ठूला चाडपर्व अगाडी नभत्काउन उद्योग वाणिज्य संघ इटहरीले माग गरेको हो । व्यवसायीहरुलाई आर्थिक रुपमा ठूलो नोक्सान पर्ने संघको भनाई छ ।
बुधबार सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रलाई पत्र बुझाउँदै समय सार्न आग्रह गरिएको उद्योग वाणिज्य संघ इटहरीकी पूर्व कोषाध्यक्ष गायत्री कटवाल भण्डारीले जानकारी दिईन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले ३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दै सडक मापदण्डभित्र पर्ने संरचना हटाउन सुचना जारी गरेपछि व्यवशायीहरुले समय सार्न र सडक दुई फिट साँघुरो बनाउन आग्रह गरेका हुन् ।
व्यवशायीहरुले डिजिटल नापीको क्रममा थपिएको थप दुई फिट क्षेत्र नभत्काउन आग्रह गरेका छन् । सडकको ८२.५ फिट क्षेत्राधिकार भएपनि २ फिट छाडिदिन अनुरोध गरेका हुन् । दुई फिट फराकिलो बनाउने क्रममा धेरै घरको माथिल्लो तलासम्मै भत्कने र ठूलो क्षती हुने घरधनीहरुको भनाई छ ।
यता ज्ञापनपत्र बुझ्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी मिश्रले सडक कति भत्काउने भन्ने विषय आफ्नो क्षेत्रभित्र नपर्ने, बरु क्षतीपूर्तीका लागि नियमानुसार कार्यान्वयन गर्ने बताएका थिए ।
इटहरी चोकमा अहिले बनाउने तयारी गरिएको ओभरपासको साटो पिल्लर हालेर फ्लाइ ओभर बनाउनुपर्ने मागसमेत व्यवशायीहरुले राख्दै आएका छन् ।
कोशी राजमार्गलाई तल पारेर पुर्व पश्चिम राजमार्गमा ओभरपास बनाउने गरी तयारी थालिएको छ । व्यवशायीहरुले भने फ्लाइओभर बनाउनुपर्ने माग गरिरहेका छन् । फ्लाइ ओभर बनाउँदा पार्किङ क्षेत्र पनि निस्कने, नगरको सौन्दर्यीकरण पनि हुने व्यवशायीहरुको भनाई छ । तथापी सडक आयोजनाले भने डिजाइन परिवर्तन नहुने जनाउँदै आएको छ ।