सिरहा । सिरहामा जिपको ठक्करबाट सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ ।
नेपाल भारत सीमाक्षेत्र बरियारपट्टी गाउँपालिका १ कचनारीमा आइतबार बिहान मदिरा तस्करको जिपको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको मृत्यु भएको प्रहरीको भनाइ छ ।
सिरहा प्रहरीका अनुसार, नजिकैको बडहरी बेस क्याम्पमा कार्यरत यादवसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ८ जना सुरक्षाकर्मी नेपालबाट भारततर्फ उक्त स्कोरपियो जिपमा मदिरा गइरहेको छ भन्ने सूचनाका आधारमा गस्तीमा खटिएका थिए । सोही जिपलाई रोक्ने क्रममा बिहान ३ बजेको समयमा यादवलाई ठक्कर दिएर भागेको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका यादवलाई तत्कालै उपचार गराउन लहानस्थित प्रादेशिक अस्पताल लगिएकोमा त्यहाँ मृत घोषणा गरिएको सिरहा प्रहरीले जनाएको छ । यादव सिरहाकै नरहा गाउँपालिका ४ ललभितियाका बासिन्दा हुन् ।
उक्त गाडीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।