एजेन्सी । कोभिडका बिरामीहरूको लागि खाने औषधि प्रयोगमा आएको छ । लक्षणसहितका कोरोनाका बिरामीको उपचारका लागि यो औषधी बनाइएको हो । बेलायतमा प्रयोग सुरु भइसकेको ‘मोल्न्यूपिरभीर’ नाम दिइएको उक्त चक्की बिरामीहरूलाई दिनमा दुईपटक दिइनेछ ।
उक्त चक्कीले कोरोना लागेपछि अस्पताल भर्ना हुनुपर्ने अथवा मृत्यु हुने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणहरूबाट देखिएको छ । शुरूमा यो औषधि रुघाखोकीको उपचारका लागि विकास गरिएको थियो । तर कोरोनामा यसले धेरै लाभदायक काम गरेपछि प्रयोगका लागि अनुमति दिइएको हो ।
कोभिड विरुद्धको यो नै पहिलो ओखती हो, जसलाई सुईको सट्टामा मुखबाट खान सकिन्छ ।
बिबिसीका अनुसार कोभिडका हल्कादेखि मध्यमसम्मका लक्षण देखिएका र अवस्था गम्भीर हुन सक्ने एउटा पनि कारक भएका जस्तो कि मोटोपन, वृद्धावस्था, मधुमेह वा मुटुसम्बन्धी रोग भएका मानिसमा मोल्न्यूपिरभीरको प्रयोगका लागि अनुमति दिइएको यूकेको औषधि नियामक एमएचआरएले जनाएको छ ।