इटहरी । रानीदेखि धरानसम्म कोशी राजमार्गको ४९ किलोमिटर लामो सडक ६ लेन विस्तार तीव्र गतिमा भइरहँदा पुर्वको व्यस्त चोक इटहरीमा साइट क्लियरिङ अझै बाँकी थियो । सडकको क्षेत्राधिकारभित्र पर्ने घरहरु नभत्काइएका कारण सडक विस्तार हुन सकेको थिएन । तर विगत केही हप्तादेखि ती घरहरु घरधनीहरुले स्वतस्फूर्त भत्काइरहेका छन् । जनप्रतिनिधिहरुको सचेततापूर्ण अगुवाइ हुने हो भने कुनै पनि काम असम्भव छैन भन्ने उदाहरण हो यो ।
इटहरी चोकभन्दा उत्तरतर्फ फुटपाथको भाग विस्तार गर्न बाँकी नै राखेर भएपनि सडक बनिसकेको थियो, तर दक्षिणतिर भने केही घरहरु भत्काउनैपर्ने अवस्था थियो । जम्मा ४५ वटा घर भत्काउँदा मात्र सडक विस्तार हुने अवस्थामा सबैभन्दा ठूलो समस्या थियो, ती घरहरुसँग भएको पुर्जा र उनीहरुले लिएको स्टे अर्डर ।
मेयर द्वारिकलाल चौधरी हुँदैखेरि ती घर भत्काउन ६ लेन सडक विस्तार परियोजनाले इटहरी उपमहानगरपालिकासँग ताकेता गर्दै आएको थियो । तर उपमहानगरपालिका सफल हुन सकेको थिएन । राष्ट्रिय गौरवको आयोजना इटहरीकै कारण असफल हुने डरसमेत थियो । तर मेयर हेमकर्ण पौडेल सडक विस्तारमा उत्रिए र उनलाई भरपर्दो सहयोग गरे, इटहरीका दुई युवा वडाध्यक्षहरुले । ती हुन्, वडा नं. ६ का वडाध्यक्ष दिवस पोख्रेल र ९ का जितेन थापा ।
घर भत्काउन आग्रह गर्दै उपमहानगरपालिकाले पटक पटक सुचना निकालिरहेकै थियो । मेयर र वडाध्यक्षहरु घरघर पुगेर घर खाली गर्न र भत्काउन आग्रह गर्न थाले । तर घरधनीहरुले अटेर गरिरहेका थिए । त्यसैबिच घरधनीहरुको सुची निकालेर उपमहानगरपालिका एक्सनमा उत्रियो । सुरुवातमा इटहरी ९ का घरहरु भत्कायो । वडा नं। ९ मा १६ वटा घर थिए ।
त्यसबाट घरधनीहरुमा दबाब सृजना भयो भने केही घरधनीहरुले सडक विस्तारमा आफूहरु बाधक नबने बताउँदै आफै घर भत्काउन सुरु गरे । अब अर्को चुनौति इटहरीको वडा नं। ६ स्थित मुख्य चोकमै रहेका ३२ वटा घर भत्काउने थियो । मुख्य चोकमा भएका कारण व्यवशायीक संस्थाहरु यहाँ धेरै थिए ।
वडाध्यक्ष दिवस पोख्रेलले अन्तीम पटक सुचना जारी गरे । उद्योग वाणिज्य संघ इटहरीको उपाध्यक्ष भएको कारण पनि पोख्रेललाई व्यवशायीक घरहरु भत्काउन चुनौति थियो । तर काम नगरी पनि नहुने थियो ।
‘मैले त चुनावमा भोट माग्दै पनि तपाइहरुको घर चाहिँ म भत्काउँछु है भनेरै भोट मागेको थिएँ,’ उनी सम्झन्छन्, ‘मैले त्यसो भनेको भिडियो कतिले त खिँच्नु पनि भएको थियो ।’
उनले सुचना जारी गरेर घरधनीहरुलाई बैठकमा बोलाए । त्यहाँ उनले घर भत्काउनुपर्ने आवश्यकताबारे बुझाए भने भत्काइएका घरको क्षतीपूर्तीको लागि आफू लागिपर्नेसमेत प्रतिबद्धता जनाए । त्यसले पनि घरधनीहरु सकारात्मक बन्न मद्धत पुग्यो । ‘भत्काउने काम सकिएपछि हामी त्यो विषयमा सरकारसँग पहल गर्छौं,’ उनी भन्छन् ।
त्यो बैठकपछि २० वटा घरहरुले त आफै भत्काउन सुरु गरिहाले । अन्य घरहरु पनि भत्काउने तयारी भइरहेको छ ।
इटहरी चोक उत्तरतर्फको सडक फुटपाथ विस्तार गर्न बाँकी छ । तर तत्काल भत्काइहाल्ने उनको योजना छैन । ‘यसअघि पनि त्यहाँ सडक विस्तार र नाला निर्माणका कारण लामो समय त्यो क्षेत्रका व्यापारीहरुले समस्या भोगेका छन्, पछि कोरोना र आर्थिक मन्दिका कारण व्यापारीहरु थिलथिलो भएका छन्,’ उनी भन्छन्, ‘केही समय दिने, तर भत्काउन चाहिँ मेरो कार्यकालमै चोक उत्तरका घरहरु भत्कन्छन् र फुटपाथ निस्कन्छ ।’
सवारी व्यवस्थापन र पार्किङको लागिसमेत पहल
पोख्रेलकाअनुसार सडक विस्तारसँगै इटहरी चोकको सवारी पार्किङ व्यवस्थापनको लागिसमेत पहल भइरहेको छ । केही अन्डरग्राउण्डहरुलाई पार्किङका लागि व्यवस्थित गर्ने योजना छ । खाली जग्गाहरुसमेत व्यवस्थापन गर्न पहल भइरहेको उनको भनाई छ ।
‘तीन सय मिटर परको सडकलाई तत्काललाई उपयोग गर्न सकिन्छ,’ उनी भन्छन्, ‘तर दीर्घकालिन रुपमा केही व्यवस्थापन आवश्यक छ ।’
पुर्वपश्चिम राजमार्गको गलत डिजाइनका कारणसमेत दीर्घकालिन रुपमा इटहरीको बजार र पार्किङलाई समस्यामा पार्ने सम्भावना रहेको उनी बताउँछन् ।
उक्त सडकलाई इटहरी चोकमा ओभरब्रिज बनाएर लान सकेको भए पार्किङ स्थान निस्कने अवस्था थियो । तर बाँधजस्तो बनाएर राजमार्ग लाने गरी डिजाइन भएको कारण त्यसले इटहरी चोकलाई झन् विभाजन गर्ने र पार्किङको समस्या झन् बढ्ने उनको आँकलन छ ।
‘त्यसमा पनि सुधार गर्न हामीले हाम्रोतर्फबाट सक्दो कोसिस गरिरहेका छौं,’ उनी भन्छन्, ‘कतिपय कुराहरु नगरले पहल गर्नुपर्ने हुन्छन् भने कतिपय कामहरु संघीय सरकारले गर्नुपर्ने हुन्छन्, हाम्रो पहल जारी छ ।’
इटहरीको मुख्य चोकलाई सकेसम्म व्यवस्थित बनाउन ट्राफिक लाइट जडान भइसकेको र सडक भत्कने बित्तिकै मर्मत गर्नेगरी व्यवस्थापन गरिएको उनले जानकारी दिए ।