उदयपुरमा एक युवती आफ्नै कोठामा मृत फेला, हत्या भएको आशंका

Newslaya Home

उदयपुरमा एक युवती आफ्नै कोठामा मृत फेला, हत्या भएको आशंका

मङ्गलबार २९, भदौ २०७८

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैरामा एक युवती आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् । कोठामा बाहिरबाट चुक्कुल लगाएको अवस्थामा २१ वर्षीया करिश्मा चौधरी मृत भेटिएकी हुन् ।

खैरा घर भएकी युवती लहानको एक फेन्सी पसलमा काम गर्दै आएकी थिइन् । उनी लहानमा डेरा गरेर बस्दै आएको चौधरीको परिवारले जनाएको छ ।

दिउँसोबाट साँझसम्मै कोठामा सुतिरहेको भन्दै घरबेटीले उठाउन खोज्दा मृत फेला पारेको मृतक युवतीका मामाका छोरा राजेश चौधरीले बताए ।

परिवारले घटना रहस्यमय रहेको जनाएको छ । मृतको घाँटीमा डोरीको डाम, र्‍याल, रगत, टाउकोमा चोट र बाहिरबाट चुक्कुल लगाएकाले घटना रहस्यमय रहेको परिवारको भनाइ छ । शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको र घ‍टनाबारे अनुसन्धान थालिएको लाहन प्रहरीले जनाएको छ ।