तालिबानहरु महिलालाई पढ्न दिन सहमत, तर अलग्गै राखिने

Newslaya Home

तालिबानहरु महिलालाई पढ्न दिन सहमत, तर अलग्गै राखिने

मङ्गलबार २९, भदौ २०७८

काबुल । अफगानिस्तानमा तालिबान सरकारले छात्रालाई पनि अध्ययनका लागि विश्वविद्यालय जान अनुमति दिने निर्णय गरेको छ । तालिबानी समूहले शासन सत्ता हातमा लिएपछि छात्राहरूको पढाइ कस्तो हुन्छ भन्ने कौतुहलता र छात्रालाई विश्वविद्यालय जान प्रतिबन्ध लगाउने आशंकाबीच विश्वविद्यालय जान दिने बताएका हुन् ।

तर, एउटै कोठामा छात्रा र छात्रलाई सँगै राख्न भने नपाइने तालिबान सरकारका उच्च अधिकारीहरूले जनाएका छन् । विश्वविद्यालयहरूमा महिलालाई पुरुषभन्दा छुट्टै राख्न तालिबान सरकारका नयाँ शिक्षामन्त्रीले निर्देशन दिएका छन् । विश्वविद्यालयमा छात्रालाई पनि जान दिने निर्णयलाई तालिबानको यसअघि सन् १९९६ देखि २००१ सम्मको शासन व्यवस्थाभन्दा लचक हुने संकेतका रूपमा लिइएको छ ।

अघिल्लो शासनकालमा अफगानिस्तानमा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालयमा जान प्रतिबन्ध लगाइएको थियो । विश्वविद्यालयहरूलाई लिंगका आधारमा पोसाकसम्बन्धी नयाँ नियम लागू पनि गरिने तालिबानले जनाएको छ ।

तालिबानले महिलाहरूलाई शिक्षा र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ । तर, गत २५ अगस्टमा सत्ता आफ्नो हातमा लिएसँगै तालिबानले सुरक्षा अवस्थामा सुधार नआएसम्म स्वास्थ्यकर्मीबाहेक अन्य महिलालाई कामबाट टाढै बस्न निर्देशन दिएको छ ।