इटहरीलाई पैदल यात्रा गर्न लायक यसरी बनाऔं

Newslaya Home

इटहरीलाई पैदल यात्रा गर्न लायक यसरी बनाऔं

– ज्ञानेन्द्र दाहाल
सोमबार २८, भदौ २०७८

प्रदेश १ कै केन्द्र बिन्दु मानिएको इटहरी विकासको रफ्तारमा दिन प्रतिदिन तिब्र कदमले कुदिरहेको हामीले देखीरहेका छौ । बन्दै गरेका चौडा रोडहरु र बन्ने क्रममा रहेका रोडहरु, बन्दै गरेका ठुलाठुला भवनहरु, सुपर मार्केटहरु, सडकका छेउमा खोलीएका असंख्यक पसलहरु, यसो हेर्दा यसको भविष्य पक्कै पनि उज्वल देखिनु स्वभाविकै हो । जे देख्छौँ, त्यही सोच्नु हाम्रो आफ्नै मौलिकता हो ।

जब महिना लाग्छ बजार आसपासमा रहेका घरबेटीहरु किराया उठाउनमा नै ब्यस्त देखिन्छन् । किनकी उसको आयस्रोत भनेकै त्यही हो, घर ब्यवहार चलाउनै पर्यो । उपमहानगरपालिका घरबेटीबाट र पसलेहरुबाट जरिबाना लाएर भएपनि ट्याक्स उठाउन ब्यस्त देखिन्छ, किनकी आफ्नो तलब सुबिधाको सुनिश्चितता गर्न र वार्षिक बजेटअनुरुप विकास निर्माणमा गति दिन किन पछि पर्थे र ?

कोरोनाको कारण लकडाउनले व्यवशायीलाई दिएको सास्तीको आफ्नै छुट्टै ब्यथा छ । बल्लबल्ल पसल खुल्छ, पसल चलेको छैन, निराश जिन्दगी एक दिन पक्कै लकडाउन खुल्छ, मेरो पसलले गति लिन्छ भन्ने आशामा छन् । घर धनिलाइ तेरो बैंकको कर्जा माफी, पसलेलाई तेरो घरभाडा माफी, तेरो पसल बन्द गराउन आदेश दिने मै हो, तैले यति कर तिर्नु पर्दैन भनेर आफ्ना अन्नदाताहरुसँग भन्ने आँट उपमहानगरपालीकासँग छैन । जब त्यही घरधनि त्यही ब्यापारीहरु नै इटहरी विकासको मुल आधार हुन् । तर उनिहरुको भविष्यमा चिन्ता लिन, उनीहरुका समस्या बुझ्न र एउटा निकास दिन हाम्रा निर्वाचित जनप्रतिनिधिहरु चाहँदैनन् । के सम्झिने रु मन्दबुद्धी या पब्लिकप्रति गैर जिम्मेवार ।

स्वच्छ धुलो रहित बजार क्षेत्र जाने अनि बाटो छेउको चौडा सडक पेटीमा हाम्रा छोराछोरी हिडाउँदै आफुपनि हिड्दै सपिंग गर्ने दिन के कल्पना मात्रै हो त ? बजार क्षेत्रमा सपिंग गर्न आफ्नो गाडी घोडा जे जस्तो छ, त्यसमा परिवार राखी जानुपर्यो भने गाडीलाई चोटपटक नलागि पुर्याउनु नै लडाइ जिते जस्तो हुन्छ । अर्को तिर बाटोमा नै टासीएका पसलमा छिर्न गाडी घोडा कहाँ पार्कींङ गर्ने ? जेनतेन काही पार्किंङ नै गरेपनि ब्यस्त सडकबाट पसल भित्र कसरी छिर्ने ? त्यसमा पनि आफ्ना लावा लस्कर आफन्त बालबच्चा अगाडि पछाडि लागेका छन् भने ?

मानिस त्यस्तो अटस पटस भएको ठाउँभन्दा राम्रो पार्किङ भएको मलतिर आकर्षित हुँदैनन् भन्ने कसले सोचेको छैन होला र ? हरेक क्षेत्र तहस नहस भैरहेको अवस्थामा बजार क्षेत्र छेउछाउका घरधनी ब्यापारीहरु पनि बिस्थापन हुने अबस्थाको चिन्तन गर्न नसक्नु हाम्रो जन प्रतिनिघि सरोकारबालाहरुको ठुलो कमजोरी नै हो भन्दा फरक नपर्ला ।

बर्खा लाग्छ, पानी पर्छ । कहिलेकाहीँ बाढी आउँछ र यसबाट पिडित हुने त इटहरीवासीको नियति नै हो । नागरिकको विकास, यहाँको सामाजिक विकास, बाटोघाटो, खानेपानी, दुषित पानीको निकास, ढल आदिको उचित ब्यबस्थापन गर्छु भनेर ठेक्का पारेका हाम्रा जन प्रतिनिधिहरुमा सामान्य ज्ञानको पनि अत्यन्तै ठुलो खडेरी देखा परेको देखिन्छ । सबै क्षेत्रको ज्ञान नहुन सक्छ, तर सम्बन्धित विज्ञहरुबाट सल्लाह लिने कामको कतै स्खलन पो भएको हो कि ? या सल्लाह लिँदा अज्ञानी देखिने डरले पो हो कि ? सोचनिय छ ।

सडक बिभागको एउटा इन्जिनियर आउँछ अनि स्थानिय जनप्रतिनिधि र नपाकै एउटा इन्जिनियर गाडीमा राखेर घुमाउँछ । सल्लाह माग्छ । कहाँ ह्युमपाइप चाहिने, कहाँ नचाहिने लेख्छ हिड्छ, त्यो कसको क्षेत्राधिकार भित्र पर्छ भनेर न सोध्नेले सोध्छ न भन्नेले भन्छ। न्युरो सर्जनले हार्टको अपरेसन गरे जस्तो । न त सरोकारवालाहरुलाई बोलाउँछन् न त आफू यस अनभिज्ञता देखाउँछन् । खानेपानी संस्थाको प्रतिनिधिले पनि कहिलेकाही उत्पट्यांग गर्छ या बोल्छ र भन्छ दिल खोलेर निश्चिन्त भएर पानी पिउँदा हुन्छ हाम्रो जस्तो पानी कही छैन ।

कति धेरै विज्ञ पानीमा क्लोरिन हाल्दियो, पानी शुद्ध भैहाल्यो । त्यो क्लोरिन हाल्ने को छ, कति मात्रा हाल्छ, हालिसकेपछि ल्याबमा टेष्ट हुन्छ वा हुँदैन, क्लोरिनको नियमित सेवनले शरीरमा कस्तो दीर्घकालिन असर पार्छ, मतलब छैन । न त अध्ययन नै गर्छन् । जोक्स सुन्ने हामी छँदैछौँ । न लाज छ, न त सरम नै । जे मुखमा आउँछ, प्वाक्क बोल्दियो भैहाल्यो ।

इटहरी क्षेत्र चारैतिर पुरा अस्तब्यस्त । बिचरा त्यो आदेशपालक ट्राफिक प्रहरी बिहान बेलुका कति हात हल्लाओस् ? कतिलाई गाली गरोस् ? कति केजी धुलो खाओस् रु उसको पनि पिडा आफ्नै ठाउँमा छ । यो ट्राफिक व्यवस्थापन गर्ने जिम्मा लिने ठेक्का चै कसको काँधमा परेको छ ? कसले झक्झक्याउने त्यो ठेक्का लिएका ब्यक्तिहरुलाई ?

इटहरीको सौन्दर्य तथा महानगरपालिकाको आम्दानीको श्रोत भनेकै बजार क्षेत्र हो र यसलाई कसरी संरक्षण गर्न सकिन्छ भनेर सम्बन्धित महानगरपालिका, नागरिक समाज सरोकारवाला ट्राफिक प्रहरी तथा बुद्धीजीवी राखी बृहत छलफल गर्नुपर्ने आवश्यकता देखेको छु ।

मेरो बिचारमा बजार क्षेत्र आसपासमा रहेको जतिपनि शाखा बाटोहरु छन् त्यसलाई वान वे बनाउनुपर्छ । जसले गर्दा मानिसलाई आवत जावत गर्न र गाडी कुदाउन सहज होस् । मुख्य राजमार्गसँग जोडिएका बाटोहरुलाई वन वे बनाउन सक्दा मुख्य चोकको जाम कम हुन्छ ।

यसैगरी लामो दुरीको बसको लागी पनि निम्न काम गर्न सकिन्छ –

पुर्बबाट आएको सिधै धरान जाने गाडी पाथीभरा लाइन भेटघाट ताल तलैया हुदै तरहरा निस्कने ।

पश्चिमबाट सिधै धरान जाने गाडि राजश्व ढाटअगाडिबाट छिरेर परिवार नियोजन कार्यलय हुदै हलगडा निस्कने ।

पश्चिमबाट सिधै बिराटनगर जाने गाडि कलंकी चोकबाट छिरेर पुरानो नया हेल्थ पोस्ट पुष्पलाल चोक हुदै तिरुपति उड प्यानेलबाट कोशी राजमार्ग निस्कने ।

यसो गर्दा बजार क्षेत्र अस्तव्यस्त हुनबाट छुटकारा पाउँछ । सडक छेउमा रहेको फुटपाथ राम्रो ब्यबस्थापन गर्ने । जस्ले गर्दा मानिसलाइ सहज आवत जावत तथा परिवार लिएर पनि सहजै आवात जावत गर्ने वातावरण बन्छ । शान्ती शुरक्षा कायम राखी रात्री कालिन बजार १० बजेसम्म पसल खोल्ने बातावरण बनाउने । शाखा बाटो छेउछाउ रुखहरु रोप्ने जस्ले इटहरी स्वच्छ हराभरा, ग्रीन एण्ड क्लिन देखिनेछ । बाटो छेउछाउ क्लियर स्ट्रिटलाइट, सि सि क्यामेरा जडान गरि मानिसलाइ भय रहित हिडडुल गर्ने वातावरण बनाइ दिने ।

पक्कै पनि मानिसहरु बजार जान, सपिंग गर्न या रेक्रियसन गर्न गाडीमा भन्दा पैदल हिड्नमा नै रमाउँछन् । त्यसको लागि हामी सबैले “बजार जोगाऔ, ब्यापारी बचाऔ र इटहरी बजारलाई बिश्वमा नै चिनाऔ” भन्ने नारालाई आत्मसाथ गर्नुपर्ने आवश्यकता रहेको छ ।