सर्पले टोकेको बालकको मृत्यु भएपछि स्थानीयले गरे अस्पतालमा तोडफोड

Newslaya Home

सर्पले टोकेको बालकको मृत्यु भएपछि स्थानीयले गरे अस्पतालमा तोडफोड

सोमबार २८, भदौ २०७८

पर्सा । सर्पदंशको उपचार समयमा नपाउँदा बालकको ज्यान गएको भन्दै आक्रोशित स्थानीयले बाराको सिम्रौनगढ नगर अस्पतालमा तोडफोड गरेका छन्।

सर्पले डसेपछि अस्पताल पुर्‍याउँदा पनि समयमा उपचार नगरि अस्पतालले लापरबाही गरेको आरोप लगाउँदै आक्रोशित स्थानीयले सिम्रौनगढ नगरपालिका ७ सिम्रौनगढस्थित नगर अस्पतालमा तोडफोड गरेका हुन्। सिम्रौनगढ नगरपालिका २ मौवाही टोल निवासी सुमोद साहका १८ महिने छोरा अनुराज गुप्तालाई सर्पले डसेपछि सिम्रौनगढ नगरअस्पतालमा लगिएको तर त्यहाँ उपचार नभएपछि कलैया लैजाने क्रममा बाटैमा बालकको मृत्यु भएको थियो।

त्यसैको आक्रोशमा बालकका आफन्त र गाँउलेले सिम्रौनगढ नगर अस्पतालमा तोडफोड गरेका हुन्। तोडफोडका क्रममा अस्पतालका कर्मचारी र स्वा‍स्थ्यकर्मी गरी ८ जना घाइते भएका छन्।

घाइतेहरुको उपचार कलैया र सिम्रौनगढमा भइरहेको छ। सिम्रौनगढ नगर अस्पतालका प्रमुख डा.जितेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै अस्पतालमा भएको तोडफोडबारे जानकारी दिए।

तोडफोडबाट कम्प्युटर दुई थान, ल्यापटप एक थान, ईसीजी मेसिन एक थान, मोबाइल एक थान तथा केही औषधिहरु पनि क्षति भएको अस्पताल प्रशासनले जनाएको छ। मृतक बालकका बुवा सुमोदले आफ्नो छोराको समयमै उपचार नहुँदा मृत्यु भएको बताए।