नेपालमा अनलाइन कक्षा लिने २७.५ प्रतिशत मात्र

Newslaya Home

नेपालमा अनलाइन कक्षा लिने २७.५ प्रतिशत मात्र

शुक्रबार २५, भदौ २०७८

काठमाडौ । नेपालमा अनलाइन कक्षा प्रयोग गर्ने घरधुरी २७.५ प्रतिशत मात्र रहेको पाइएको छ । युनिसेफले गरेको अध्ययनमा कोभिड–१९ का कारण विद्यालय बन्द हुँदा नेपालको हकमा ६३ प्रतिशत बालबालिका पाठ्यपुस्तकबाट स्वअध्ययनमा निर्भर हुने र थोरै बालबालिकाको मात्रै वैकल्पिक शिक्षाका विधिमा पहुँच भएको पाइएको हो ।

अहिले काठमाडौं उपत्यका र बाहिरका जिल्लामा समेत स्मार्ट लकडाउनअनुसार विद्यालय खुल्न थालेपछि सिकाइ उपलब्धि बढ्ने अपेक्षा गरिएको छ ।

उपकरणहरू उपलब्ध हुँदा पनि तिनको प्रायः कम उपयोग भएको र ती उपकरणमा बालबालिकाको पहुँच सीमित रहेको अनुसन्धानले देखाएको छ । नेपालको अनुसन्धान युनिसेफ नेपालको नियमित सर्भे, चाइल्ड एन्ड फेमिली ट्र्याकरको २०२१ जुलाईमा गरिएको अनुसन्धानमा आधारित छ । देशभरिबाट प्रतिनिधित्व हुने गरी बालबालिका भएका ६ हजार ६ सय ४३ अभिभावकसँग टेलिफोनमा आधारित सर्भे गरिएको थियो ।

अध्ययनका क्रममा अधिकांश अर्थात् ८९ प्रतिशत अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउन चाहेका छन् । अध्ययनअनुसार झन्डै ९० प्रतिशत अभिभावकले बालबालिकाले पहिले पढेको बिर्सिएको र बिर्सन सुरु गरेको बताएका थिए ।

नेपालमा गरेको अनुसन्धानमा ८८ प्रतिशत अभिभावकले बालबालिका सिकाइमा पछाडि पर्न थालेको वा सिकेका कुराहरू बिर्सन थालेको बताएका छन् ।