बलात्कारपीडितको पहिचान खुलाएको आरोपमा सलमानसहित ३८ भारतीय सेलिब्रिटीविरुद्ध मुद्दा

Newslaya Home

बलात्कारपीडितको पहिचान खुलाएको आरोपमा सलमानसहित ३८ भारतीय सेलिब्रिटीविरुद्ध मुद्दा

मङ्गलबार २२, भदौ २०७८

काठमाण्डौ । बलिउडका सुपरस्टार सलमान खान, अक्षय कुमारलगायत ३८ बलिउडकर्मीहरूविरुद्ध मुद्दा दर्ता गरिएको छ । उनीहरूविरुद्ध बलात्कारपीडितको पहिचान खुलाएको आरोपमा मुद्दा दर्ता गरिएको हो ।

सन् २०१९ मा हैदराबादमा चार पुरुषले एउटी किशोरीलाई बलात्कारपछि जिउँदै जलाएका थिए । उक्त घटनाको चर्को विरोध भएको थियो ।

बलिउड सेलिब्रिटीहरूले पनि सामाजिक सञ्जालमार्फत दुःख र आक्रोश व्यक्त गरेका थिए । सोही क्रममा बलिउड सेलिब्रिटीहरूले पीडितको पहिचान खुल्ने गरी पोस्ट गरेको भन्दै अहिले उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

अभिनेता अजय देवगन, अक्षय कुमार, सलमान खान, अभिनेत्री रकुलप्रित सिंहसहित ३८ भारतीय सेलिब्रिटीहरूमाथि उक्त आरोप लागेको नवभारत टाइम्सले जनाएको छ । साउथ कलाकारहरूको नाम पनि त्यसमा मुछिएको छ ।

दिल्लीका वकिल गौरव गुलाटीले उनीहरूविरुद्ध मुद्दा दर्ता गराएका हुन् । आफ्नो उजुरीमा उनले भनेका छन्, ‘अरूका लागि उदाहरण बन्नुपर्नेमा भारतीय सेलिब्रिटीहरू नियम तोड्दै पीडितको पहिचान उजागर गरिरहेका छन् ।’

उनले आफ्नो उजुरीमा यी कलाकारहरूलाई तुरुन्त पक्रिनुपर्ने पनि माग गरेका छन् ।