इटहरीको वडा कार्यालय निर्माणमा अनियमितताको आरोप, वडाले सार्वजनिक गर्यो खर्च विवरण

Newslaya Home

इटहरीको वडा कार्यालय निर्माणमा अनियमितताको आरोप, वडाले सार्वजनिक गर्यो खर्च विवरण

- रोजिना खतिवडा
शनिबार १६, साउन २०७८

इटहरी । इटहरी वडा नं.२ को कार्यालय भवनको विषयलाई लिएर केही दिनदेखि विवाद उत्पन्न भएको छ । १ करोड १७ लाखमा निर्माण भएको भवनको लागतलाई लिएर टिकाटिप्पणी भएको हो ।

गत वर्षको पौष महिनामै सम्पन्न भई सेवा प्रदान गरिरहेको भएता पनि अषाढ महिनामा उद्घाटन भएको दुई तले भवन बनाउँदा त्यती धेरै खर्च लाग्न नसक्ने भन्दै सर्वसाधारणले प्रश्न उठाएका हुन् । भवनको विषयमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणीहरु सार्वजनिक भएका छन् ।

भवन निर्माणमा अनियमितता भएको भन्दै आलोचना भएपछि वडा कार्यालयले खर्च विवरण सार्वजनिक गरेको छ । सार्वजनिक खर्च विवरण अनुसार भवनको लागत अनुमान रकम भ्याट बाहेक १,६४,५९,५७०.९८ रुपैयाँ रहेकोमा अनलाईन बोलपत्र मार्फत भ्याट बाहेक १,१४,१९,९८३.५४ रुपैयाँमा निर्माण कम्पनी प्रयास सोलुसन एण्ड बिल्डर्स प्रा.लिसंग ठेक्का सम्झौता भएको थियो । जसमा भ्याट बाहेक १,०४,०७,६८८.८४ रुपैयाँखर्च भएको कार्यालयले स्पष्ट पारेको छ ।

‘चर्चा गरिएजस्तो खर्च लागेको अनि अनियमितता भएको छैन,’ वडाध्यक्ष हर्क मगरले भने, ‘सबै काम न्युन बजेटमा अनुगमन र निरिक्षण सँगै भएको छ ।’

भवनको भुइँ तल्लाको क्षेत्रफल २२३२.५ वर्ग फिट र पहिलो तल्लाको क्षेत्रफल २५४१.८७ वर्ग फिट रहेको छ भने ५० फिट लम्बाई, ४६.५ फिट चौडाई रहेको यस भवनमा १४*१६ इन्चको १८ वटा पिलर छ । भवनको भूई तलामा वडा अध्यक्षको कार्यकक्षसहित ५ वटा र पहिलो तल्लामा एउटा सभा हल सहित ३ वटा कोठा रहेको कार्यलयले जानकारी दिएको छ ।