आजदेखि सर्वोच्चका सबै सेवा नियमित रुपमा सञ्चालन हुने

Newslaya Home

आजदेखि सर्वोच्चका सबै सेवा नियमित रुपमा सञ्चालन हुने

शुक्रबार १५, साउन २०७८

काठमाडौं । सर्वोच्च अदालतले तीन महिनापछि शुक्रबारबाट पूर्णरुपमा आफ्ना सेवा दिने भएको छ ।

कोरोना महामारीका कारण सेवा संकुचित गरेको तीन महिनापछि सर्वोच्चले सबै प्रकारका सेवाहरु यसरी नियमित रुपमा सञ्चालन गर्ने भएको हो ।

असार ३१ मा बसेको सर्वोच्चको पूर्ण बैठकले यस्तो निर्णय गरेको प्रवक्ता बाबुराम दाहालले बताए । साउन १ मा पूर्ण बैठकको निर्णयबारे जानकारी गराउन प्रकाशित विज्ञप्तीमा साउन मध्यबाट नियमित सेवा दिइने उल्लेख थियो ।

‘सर्वोच्च अदालतबाट सम्पादन हुने काम कारवाही र सेवा प्रवाहका सम्बन्धमा मिति २०७८÷०१÷१४ तथा तत्पश्चात् विभिन्न मितिमा बसेको पूर्ण बैठकबाट आवश्यक निर्णयहरु भइ सो अनुरुपको व्यवस्थापन हुँदै आएकोमा २०७८र०४र१५ देखि स्वास्थ्य सुरक्षासम्बन्धि निर्धारित सम्पूर्ण मापदण्डहरुको पूर्णपालना हुनेगरी यस अदालतबाट प्रवाह गरिने सबैप्रकारका (दर्ता र सुनुवाइसम्बन्धि) सेवाहरु नियमित रुपमा सञ्चालन गर्ने,’ पूर्णबैठकबाट भएको निर्णयबारे जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

अदालतले सेवा संकुचन गरेको अवधिभित्रका हदम्याद, म्याद र तारेख नगुज्रने भएका छन् । यसबारे गत वर्ष १५ जेठमा गरेको आदेशअनुसार नै हुने जनाएको छ ।

नेपालमा कोभिडको दोस्रो लहर सुरु भएसँगै सर्वोच्चले आफ्नो सेवामा सीमितता ल्याएको थियो । सर्वोच्चसँगै उच्च, विशेष र जिल्ला अदालतहरुले पनि संक्रमण फैलन नदिन विभिन्न किसिमका सेवा बन्द गरेका थिए ।