पब्जी र फ्रि फायरबन्द गर्न संसदमा उठ्यो आवाज

Newslaya Home

पब्जी र फ्रि फायरबन्द गर्न संसदमा उठ्यो आवाज

मङ्गलबार १२, साउन २०७८

काठमाडौं । कोरोना संक्रमणको बेलामा विद्यार्थीहरुका लागि अनलाइन कक्षा सञ्चालन भैरहेका बेला अनलाइन गेमलाई प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेको छ । प्रतिनिधिसभाको बैठकमा अनलाइन गेम र ओटीटी प्लेटफर्महरु बन्द गर्नुपर्ने आवाज उठेको हो ।

बालबालिकाहरु अनलाईन गेमको कुलतमा फसेको र त्यसले अनलाइन कक्षालाई समेत अलमल्याएको भन्दै सांसदहरुले प्रतिबन्धको माग गरेका हुन् । एमाले सांसद आशा विकले मंगलबारको शून्य समयमा बोल्दै अनलाइन गेमको कुलतमा फसेर बालबालिका मानसिक रोगी बनिरहेको भन्दै तत्काल बन्द गर्न माग गरेकी थिइन् । सांसद विकले पब्जी, फ्रि फायरलगायतका अनलाइन गेम तथा बेटिङहरु बन्द गर्न सरकारले नियामक निकायलाई निर्देशन दिनुपर्ने माग राखेकी छिन् ।

यसअघि सरकारले २०७५ सालमै पब्जि गेमलाई प्रतिबन्ध लगाएको थियो । तर सर्वोच्च अदालतले त्यसलाई प्रतिबन्ध नलगाउन आदेश दिएपछि भने अहिले सूचारु रहेको छ ।

तत्कालिन समयमा सरकारले पब्जीमाथि प्रतिबन्ध लगाउन दूरसञ्चार प्राधिकरणलाई दिएको निर्देशनविरुद्ध प्रवीण सुवेदीले सर्वोच्चमा रिट दायर गरेका थिए । तत्कालिन समयमा प्रहरीकै आग्रहमा सरकारले पब्जिमाथि प्रतिबन्ध लगाएको थियो ।