इटहरीमा खोप कार्यक्रममै पालना भएन सामाजिक दूरी, खोप लगाउन घम्साघम्सी

Newslaya Home

इटहरीमा खोप कार्यक्रममै पालना भएन सामाजिक दूरी, खोप लगाउन घम्साघम्सी

मङ्गलबार १२, साउन २०७८

इटहरी । कोरोना महामारीबाट जोगिन जनस्वास्थ्य मापदण्डको पालना गर्न सरकारले भनेको भन्यै छ । सामाजिक दूरी पालन गर्न पनि अनुरोध गरिरहेको छ । स्थानीय सरकार आफैले पनि यस्तो आग्रह गर्ने गर्छन् । तर स्थानीय सरकारले नै गरेको खोप कार्यक्रम व्यवस्थित हुन नसक्दा अहिलेसम्मको कोरोना शिक्षा र सचेतताको धज्जी उडेको छ ।

मंगलबार इटहरीका ८ ठाउँमा खोप केन्द्रको व्यवस्थापन गरिएको थियो । तर मानिसहरु एकैपटक भेला हुँदा ती सबै खोप केन्द्रमा मानिसहरुले घम्साघम्सी गर्दै खोप लगाए । दुई मिटरको दूरी बनाउन भनिएपनि दुई इन्चको समेत दूरी बनाएको पाइएन ।

इटहरी उपमहानगरपालिकाले नगरमा कोरोना बढेको भन्दै मंगलबारदेखि नगरपालिका र वडा कार्यालयका अत्यावश्यकबाहेक सबै काम बन्द गरेको छ । तर उपमहानगरपालिकाकै खोप कार्यक्रममा सामान्य मापदण्ड पनि पालना नहुनु अचम्मको कुरा भएको इटहरीका अर्जुन कार्कीले बताए । ‘यो त कोरोना भगाउने भन्दा पनि कोरानो बोकेर हिड्ने कार्यक्रमजस्तो भयो ।’

एकातिर भीडभाड र कोरोनाको जोखिम त थियो नै, अर्कोतिर खोप लगाउन आएका सर्वसाधारणले ६ घण्टा लाइन लाग्दा पनि पालो नपाएको गुनासो गरे । लाइन लाग्नेको पालो मिचिएको, एकैपटक धेरै मानिस भेला भएकोले पालो पाउन धेरै बेर उभिँदा कमजोर स्वास्थ्य भएकाहरुलाई झन् सास्ती भएको गुनासो गरे ।

इटहरीवासीले वडा वडामा खोप लगाउने व्यवस्था गर्न माग गरेका छन् । तर खोप कार्यक्रममा जनशक्तिको व्यवस्थापन गर्दै आएको इटहरी अस्पतालले भने प्राविधिक कारणले वडा वडामा कार्यक्रम सञ्चालन गर्न नसकेको जनाएको छ । इमर्जेन्सी इन्चार्ज रामकुमार धमलाले नगरवासीहरुमा स्वास्थ्य सचेतता नपाएको बताए । आफै सचेत हुनुपर्ने नगरवासीहरु पालो पर्खेर लाइन लाग्नुपर्नेमा भीड गरेको बताए । उनले भने, ‘अबदेखि घेराबारा गरेर लाइन लगाएर मात्र खोप लगाउन सक्छौं, यस्तो भद्रगोलमा खोप कार्यक्रम सञ्चालन गर्न सक्दैनौं ।’