सुनसरीमा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीका असई पक्राउ

Newslaya Home

सुनसरीमा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीका असई पक्राउ

मङ्गलबार १२, साउन २०७८

सुनसरी । महिलालाई यौन शोषण गरेको आरोपमा नेपाल प्रहरीका एक असई पक्राउ परेका छन् ।

ट्राफिक प्रहरी पोस्ट भान्टाबारी सुनसरीमा कार्यरत जितेन्द्रनारायण मण्डल विरुद्ध साउन ९ गते इलाका प्रहरी कार्यालय इटहरीमा जबरजस्ती करणीको जाहेरी दर्ता भएको थियो ।

जाहेरी दर्ता भएपछि अनुसन्धानको लागि मण्डललाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो । २३ वर्षीय महिलाले असई मण्डलविरुद्ध जबरजस्ती करणीको जाहेरी साउन ८ गते दिएकी थिइन् ।

मण्डलले ती महिलालाई अन्तिम पटक ७७ चैत २८ गते इटहरी ६ स्थित अरुण होटेल एन्ड लजमा जबरजस्ती करणी गरेको आरोप छ ।

त्यस अघि पनि मण्डलले आफूलाई श्रीमती बनाउने भन्दै ४ वर्षदेखि मण्डल सरुवा भएसँगै भोजपुर, झापा, इटहरी, लौकहीमा डेरा गरी राखेको महिलाको भनाई छ । मण्डलकै दबाबमा दुई पटक गर्भपतन समेत गराएको उनले बताएकी छन् ।

मण्डल विरुद्ध जबरजस्ती करणीको जाहेरी परेको बताउँदै इलाका प्रहरी कार्यालय इटहरीले मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जनाएको छ । मण्डललाई म्याद थपको लागि सुनसरी जिल्ला अदालत पठाइएको छ ।