इटहरीका उमेश एनआरएन तास्मेनियाको कोषाध्यक्ष उम्मेदवार, को हुन् उमेश ?

Newslaya Home

इटहरीका उमेश एनआरएन तास्मेनियाको कोषाध्यक्ष उम्मेदवार, को हुन् उमेश ?

मङ्गलबार १२, साउन २०७८

इटहरी । इटहरीका उमेश सुन्चेउरी यतिखेर अष्ट्रेलियाको तास्मेनिया शाखाको लागि गैह्र आवासिय नेपाली संघको कोषाध्यक्ष पदका उम्मेदवार हुन् ।

अध्ययनको सिलसिलामा ६ वर्षअघि अष्ट्रेलिया पुगेर पछिल्लो समय व्यापारमा समेत सक्रिय सुन्चेउरी त्यहाँका नेपालीहरुको हक हित र विकासका लागि आफूजस्तै युवाहरुको टिमसँगै उभिएका छन् । एनआरएनए संस्थालाई तास्मानियामा दर्ता गर्ने, सामुदायिक भवन तथा नेपाली मन्दिर बनाउने, त्यहाँ रहेका नेपालीहरुको हक हितमा आवाज उठाउने, स्थानीय लाइब्रेरीमा नेपाली पुस्तक राख्ने तथा स्कुलको पाठ्यक्रममा नेपाली विषय राख्न पहल गर्ने जस्ता ऐजेण्डा उनले बोकेका छन् ।

यसैगरी युवा वर्गका लागि मानसिक स्वास्थ्य तथा खेलकुद सम्बन्धि कार्यक्रमहरु ल्याउने, नेपाली समुदायको व्यवसायीक विकासका लागि मद्दत गर्ने, नेपाली कला संस्कृतिको प्रबर्द्धन तथा सम्बर्द्धनका लागि नेपाल फेस्टिभल लगायतका कार्यक्रमलाई निरन्तरता दिने उनका खास एजेन्डाहरु हुन् ।

‘तास्मेनियामा ठूलो संख्यामा नेपालीहरुको बसोबास रहेको छ, साथै थप आउने क्रम पनि जारी छ,’ उनले भने, ‘ती सबै नेपालीहरुबिच आपसी एकता, सद्भाव कायम गर्दै सहयोग आदान प्रदान गर्न र नयाँ आउने नेपालीहरुलाई सहयोग गर्नको लागि हामी एकताबद्ध भएका हौं ।’

उनले आफूले संस्थामा संगठित हुनुअघि पनि त्यहाँ रहेका नेपालीहरुको लागि आफूले सक्ने सहयोग गर्दै आएको बताउँदै थप भुमिका पाए नेपालीहरुको सेवा गर्ने विचार व्यक्त गरे ।

सुन्चेउरीको बाल्यकाल इटहरीमा बितेको थियो । उनी इटहरीमा रहँदा पनि यहाँको क्लबहरुमार्फत् सामाजिक काममा सक्रिय थिए । उनको अध्यक्षतामा स्कुले उमेरमै आह्वान नेपाल नामक संस्था स्थापना भएको थियो । उक्त संस्थाले इटहरीमा सडक बालबालिकाहरुको पुनस्र्थापनाको सहयोगार्थ आह्वान मासिक बाल भित्तेपत्रिकासमेत प्रकाशन गथ्र्यो । उक्त संस्थाले सडक नाटकहरुमार्फत् सामाजिक चेतना अभिवृद्धि गर्ने, बालविवाह रोक्न पहल गर्ने, सरसफाइ, स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा असहाय, निमुखाहरुको तर्फबाट आवाज उठाउने काम गथ्र्यो ।

पछि उनी राष्ट्रिय मिडियाहरुमा समेत आबद्ध भएर सञ्चारकर्मीको भूमिका निभाएका थिए । उनी नेपाल पत्रकार महासंघ सुनसरीको सदस्यसमेत थिए ।

उनले अष्ट्रेलिया पुगेपछि पनि गुर्खाज टिभी नामक युट्युब च्यानल सञ्चालनमा ल्याएका थिए भने अष्ट्रेलियाको लागि विभिन्न नेपाली मिडियामा प्रतिनिधि रिपोर्टरको रुपमा कामसमेत गरेका थिए ।

‘स्कुल पढ्दा पनि सामाजिक विकृती, विसंगतीको विरुद्ध आवाज उठाउनुपर्छ, निःसहायहरुलाई सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ सक्ने कामहरु गर्यौं,’ आफू संगठन र एकतामा विश्वास राख्ने बताउँदै उनी भन्छन्, ‘परिस्थितीको कारण विदेश आएपनि यहाँ पनि अध्ययन, कामसँगै सामाजिक र सामुहिक भावनाको कारण केही गर्ने उद्देश्यले उम्मेदवारी दिएको छु ।’

निर्वाचन ३१ जुलाइमा हुनेछ ।