मेहेंदीमा सुँगुरको बोसो

Newslaya Home

मेहेंदीमा सुँगुरको बोसो

शनिबार ०९, साउन २०७८

काठमाडौं । साउन महिनालाई पवित्र महिनाको रुपमा मानिन्छ । हिन्दु महिलाहरुले साउन महिनामा आफ्ना श्रीमान् वा हुनेवाला श्रीमानको आयुका लागि भन्दै शिवजीको आराधना गरी व्रत बस्ने चलन समेत छ । त्यसमाथि साउने सोमबार त झन् महिलाहरु आफ्ना श्रीमानका लागि भन्दै निराहार ब्रत बस्ने गरेका छन् ।

साउन १ देखि साउनको मसान्तसम्म साउन महिनालाई कुनै पर्वजसरी मान्नेहरुको संख्यापनि ठुलो छ । साउनका समयमा सबैभन्दा बढी चर्चा भनेको महिलाले लगाउने साडी कुर्ता, चुरापोते र मेहेन्दीको हो । पछिल्लो समय मेहेन्दीका नाममा विभिन्न खाले हानीकारक रसायनहरु बेच्ने गरेको र त्यसको असर ठुलो पर्ने गरेको चर्चा चलेको छ । विभिन्न डाक्टरहरुले समेत मेहेन्दीको प्रयोग गर्दा होसियार हुन आग्रह गरिरहेका छन् ।

साउन महिनामा प्याज, लसुन र माछा, मासु समेत नछुई बस्ने चलन छ । तर साउनको महिनामा महिलाहरुले लगाउने मेहेंदीमा सुँगुरको बोसो मिसाइएको हुन्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर यो कुरा सत्य हो । यसो त सुँगुरको बोसो विभिन्न कस्मेटिक समानहरुमा पनि पाइन्छ । सेम्पो, विभिन्न साबुन, डिटर्जेन्ट, रिन्कल हटाउन प्रयोग हुने क्रिममा पनि सुँगुरको बोसो र सुँगुरको हड्डीबाट निस्किने तरल पदार्थ राखिएको हुन्छ । विभिन्न चर्चित अन्तराष्ट्रिय संचारमाध्यमहरुले पनि यसको पुष्टी गरिसकेका छन् । तर सुँगुरलाई वर्त बसेका दिन छुन समेत नहुने भन्ने सोच बोकेका हिन्दु महिलाहरुले सुँगुरको बोसो र सुँगुरको हड्डीबाट निकालिने तरल पदार्थ राखिएको मेहेन्दी लगाईरहेका छन् ।

कसरी चिन्ने ?

भारतीय डाक्टर डा.आर.के मिश्रका अनुसार भारतमा पाइने कतिपय मेहेन्दीहरुमा सुँगुरको बोसो पाइने गरेको छ । र नेपालमा पनि सुँगुरको बोसो मिसिएका त्यस्ता मेहेन्दीहरु भित्रने गरेका छन् । हुन त सुँगुरको बोसो मिसिएका मेहेन्दीहरुलाई हाइ क्वालिटीका महेंदीको रुपमा लिने गरिएको छ । यो महंगो मेहेन्दी पनि हो । डा. मिश्रका अनुसार सुँगुरको बोसो मिसाइएको मेहेन्दी चिन्न सजिलो छ । हेर्दा उस्तै भएपनि यो मेहेन्दी छुदा अलि साह्रो हुन्छ । मेहेन्दी लगाउँदा फीजजस्तो पदार्थ देखियो भने उक्त मेहेन्दीमा सुँगुरको बोसो राखिएको छ भन्ने बुझ्नुपर्छ ।

यो मेहेन्दी केहि महँगो हुने हुनाले महँगो मेहेन्दी किन्दा त्यसको प्याकेटमा समेत केहि प्रतिशत पिग फ्याट भनेर उल्लेख गरिएको हुन्छ । उनका अनुसार त्यसैले लेवल हेरेर मात्र मेहेन्दी किन्नुपर्छ । सुँगुरको बोसो कस्मेटिक समानमा प्रयोग हुने नै तत्व भएकाले यसलाई अन्यथा लिन नामिलेपनि हिन्दु धर्मावलम्वीहरुले वर्त बसेका समय सुँगुरलाई हेर्ने दृष्टिकोण नै फरक हुने भएकाले सजक हुन आवश्यक छ। यसो त बजारमा पाइने सस्तो मेहेंदीमा सुँगुरको बोसो हालिएको हुँदैन । महँगो मेहेन्दी किन्दाभने ध्यान दिन जरुरी छ । नेपालमा पनि लेवलमा उल्लेख नगरिएका तर यस्ता मेहेन्दीहरु पाइने गरेको भारतीय व्यापारीहरु बताउँछन्।