व्यापार संघले दियो अर्थमन्त्रीलाई मौद्रिक नीतिबारे सुझाव

Newslaya Home

व्यापार संघले दियो अर्थमन्त्रीलाई मौद्रिक नीतिबारे सुझाव

बिहीबार ०७, साउन २०७८

मोरङ । मुलुकको आगामी मौद्रिक नीतिबारे मोरङ व्यापार संघले अर्थमन्त्री जनार्दन शर्मालाई सुझाव दिएको छ । अर्थमन्त्रीसँगको भेटका क्रममा संघका तर्फबाट बुधबार २२ बुँदे सुझाव दिएको हो ।

वरिष्ठ उपाध्यक्ष नवीन रिजालले कोभिड महामारीका कारण ऋणीको ब्याज मिनाह र कर्जा भुक्तानी गर्ने म्याद थप गरिनुपर्नेमा जोड दिएको बताए ।

त्यसैगरी, हाल कायम रहेको बैंकिङ क्षेत्रको स्प्रेडदरलाई अधिकतम ३ दशमलव ५ प्रतिशत कायम गर्नुपर्नेमा जोड दिँदै उनले लकडाउनको अवधिका लागि बैंकहरूले लिँदै आए सेवा शुल्क, नवीकरण शुल्क खारेज गरिनुपर्ने कुरा अर्थमन्त्री शर्मामाझ राखेको बताए ।

यसक्रममा संघले उद्योगी व्यवसायीका लागि कर्जा, पुनरकर्जा लिने प्रक्रियालाई सरलीकृत र सर्वसुलभ पहुँचको व्यवस्था गरिनुपर्ने र पुनरकर्जाका व्यवस्थालाई सशक्त रुपले कार्यान्वयनमा ल्याइनुपर्ने उल्लेख गरेको छ।

त्यसैगरी, क्रेडिट रेटिङका सम्बन्धमा पब्लिक लिमिटेड कम्पनीको हकमा ५० करोड रुपैयाको सीमा र निजी कम्पनीको हकमा २ सय करोडको सीमा निर्धारण गर्नुपर्ने संघले सुझाव दिएको छ।

कोभिड महामारीबाट आक्रान्त बनेको अवस्थामा पयर्टन, यातायात, होटल, पोल्ट्री, रिसोर्टजस्ता क्षेत्रका लागि विशेष सहुलियतसहित न्यून दरमा कर्जा नवीकरण गर्न पनि संघले अर्थमन्त्रीसमक्ष सुझाव राखेको छ।

निषेधाज्ञाका कारण श्रमिकलाई ऋण भुक्तानी गर्न असहज भएको हुँदा कर्जा भुक्तानी तालिकाको पुनरतालिकीकरण एवं ब्याज मिनाहमा पहल गर्न सरकारसमक्ष माग गरेको छ।