पुष्पलालले जन्माएको कम्युनिष्ट र अहिलेको छिन्नभिन्न कम्युनिष्ट

Newslaya Home

पुष्पलालले जन्माएको कम्युनिष्ट र अहिलेको छिन्नभिन्न कम्युनिष्ट

- सेमन्त उपाध्याय
बिहीबार ०७, साउन २०७८

वि.सं. १९९७ सालमा आफ्नो जेठो दाजु गंगालाल श्रेष्ठलाई भेट्न भद्रगोल जेलमा गएका पुष्पलाललाई गंगालालले भनेका थिए, ‘माइला मैले प्रजातन्त्रको निमित्त बालेको दियोलाइ तैले प्रज्वलित गर्नेछस्, निभ्न दिने छैनस् ।’

मृत्युदण्ड दिइनु एक दिनअघि दाजुले भनेको यो कुराले १६ वर्षका पुष्पलालको जीवनको कोर्स परिवर्तन गर्यो । दाजुको त्यो भनाईले उनलाई राजनिति प्रवेश गर्ने प्रेरणा दियो । भेटको भोलिपल्ट पुष्पलालका दाजुलाई गोली ठोकी मृत्युदण्ड दिइयो ।

पुष्पलाल श्रेष्ठको जन्म वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको माइला छोराको रुपमा भएको थियो । पारिवारिक राजनीतिक पृष्ठभूमीका बिच पुष्पलाल पनि क्रान्तिको माहोलमा घुलमिल मात्र भएनन्, नेतृत्व नै लिन थाले ।

वि.सं १९९८ मा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ र सुर्यवहादुर भारद्धाज र राजासँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गरे । सम्पुर्ण सदस्यले आफ्नो रगतको प्रतिक्षापत्रमा सहि गरेर मात्र पार्टिको सदस्य हुने नियम थियो ।

२००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकार प्राप्तिका लागि गरेको आन्दोलनको नेतृत्व कमरेड पुष्पलाल श्रेष्ठले गरेका थिए । जनताले गरेको नेपालको पहिलो जनआन्दोलनका रुपमा २००४ सालमा गरिएको आन्दोलनका रुपमा विश्लेषण गरिन्छ ।

नेपालमा जहाँनिया राणाशासन कायम रहेका बेला नेपाल कम्युनिष्ट पार्टि भारतको कलकत्ता श्याम बजारमा भुमिगत रुपमा स्थापना गरिएको थियो । संस्थापक महासचिव क. पुष्पलाल थिए । उनीसहित ६ जना क.पुष्पलाल, क.नरवहादुर कर्मचार्य, नारायणविलाश जोशी, मोतिदेवी, निरन्जन गोविन्द वैद्य संस्थापक थिए ।

पुष्पलालले २००५ सालमा कम्युनिष्ट घोषणापत्र पहिलोचोटी नेपाली भाषामा अनुवाद गरेका थिए ।

त्यसलगतै पुष्पलालले कम्युनिष्ट विचारधाराअनुरुप लेखेको पहिलो लेख नेपाली भाषामा लेखिएको कम्युनिष्ट घोषणापत्र झै बन्यो । उनको कम्युनिष्ट पार्टिमा गरेको योगदान अतुलनिय छ । वास्तवमा जनवादको नारा, मौलिकवादी चिन्तक गणतन्त्रको नारा, क्रान्तिको दिशानिर्देश गर्ने, द्वन्दवादी दृष्टिकोणको विचार विष्लेषण गर्ने सबै कुराको श्रेय क. पुष्पलाललाई जान्छ ।

२००६ साउन ७ का दिन नेपाल कम्युनिष्ट पार्टिको स्थापनापछि कमरेड पुष्पलालले २ वर्षसम्म महासचिव चलाए । त्यसअवधिमा नेपाली समाजलाइ हेर्ने वैज्ञानिक दृष्टिकोणको विकास गरे पुष्पलालले । त्यसभन्दा पहिला धार्मिक र ईश्वरवादी मान्यता हावी थियो । ईश्वरले यो पृथ्वी सिर्जना गरेका हुन्, जे कुरा हुन्छ ईश्वरको देन हो भन्ने धार्मिक अतिवादी सोँच थियो ।

त्यो सोँचभन्दा फरक भौतिकवादी दृष्टिकोणले हेर्न बाध्य पार्ने श्रेय पनि पुष्पलाललाई नै जान्छ । पुष्पलाल अतिवादी हुनुहुँदैन भन्ने विचारधारा राख्दथे । कम्युनिष्ट पार्टि र संगठन, नेता, सिद्धान्त र संघर्षले बनेको प्रगतिशिल पार्टी हो र यसको मेरुदण्ड पनि यिनै चिज हुन् भन्ने क. पुष्पलाल २००८ सालको पहिलो सम्मेलनबाट महासचिवबाट हट्न पुगे । क. मनमोहन अधिकारी महासचिव बने । पार्टीभित्र पुष्पलाल अल्पमतमा पररेपनि पार्टीले उनको विचार अलवम्बन गर्यो । उनैले बनाएको कम्युनिष्ट पार्टी उनैको विचार, संगठन, सिद्धान्तबाट संघर्षशील रह्यो ।

२०१० सालको पहिलो महाधिवेशनबाट पनि क. पुष्पलाल अल्पमतमा परे । तेस्रो महासचिव तुलसीलाल अमात्य बने ।

यसविच कांग्रेसले नेतृत्व गरेको सरकारले नेकपालाई प्रतिबन्धसमेत लगायो । २०१५ सालको नेपालको इतिहासकै पहिलो आम निर्वाचनमा नेकपाले ४ सिट जितेको थियो । २०१५ देखि २०१७ सम्म विपि कोइराला नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए । २०१७ पछि तत्कालिन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्त गरेर पञ्चायति व्यवस्था लागु गरेपछि फेरी नेकपालाई पञ्चे र राजाले प्रतिबन्ध लगाए ।

त्यस क्रममा केशरजंग रायमाझि समुहले पञ्चायति व्यवस्थाको समर्थन गरेपछि नेकपा फुट्यो । विभाजनपछि झापामा वर्ग शत्रृ सफाया अभियान चलाउँदै झापा क्रान्तिमार्फत् नेकपा माले र हालको एमालेको रुप लिएको हो ।

मनमोहन र पुष्पलालको धार २०४७ सालमा एक भयो । एमाले बन्यो । मोहनबिक्रम सिंह, निर्मल लामाहरुको नेतृत्वमा विभिन्न समुहहरु नेकपा चौथो, मोटो मसाल, नेकपा पातलो मसाल, नेकपा एकताकेन्द्र हुँदै हालको माओवादी धार बन्यो । मोहनविक्रम सिंह भने अहिले पातलो मसाल बोकेर बसिरहेका छन् ।

२०१५ सालमा ४ सिट जितेको नेकपा पञ्चायत कालमा विभिन्न आरोह अवरोहमा विभाजन भएर पनि तत्कालिन माले र माक्र्सवादी मिलेर बनेको एमालेले २०४६ सालपछिको जन आन्दोलनपछि ६९ सिट जित्यो । माओवादी ९ सिटसहित तेस्रो दल भएको थियो ।

२०५१ सालको आम निर्वाचन बहिस्कार गरी माओवादीले संसदिय व्यवस्थाको विरोध गर्दै २०५२ साल फागुन १ गतेदेखि महान जनयुद्धको संखघोष गर्यो । त्यस्तै एमाले २०५१ सालको आम निर्वाचनमा ८८ सिटसहित पहिलो पार्टि बन्यो र दक्षिण एसियामा नै पहिलोपटक कम्युनिष्ट पार्टिको एकल सरकार गठन गरी निकै लोकप्रिय सरकार चलायो । तर त्यो सरकार जम्मा ९ महिनामात्र टिक्यो । फेरी २०५४ सालमा विभाजित भयो । २०५६ को आम निर्वाचनमा ७० सिटसहित एमाले दोस्रो पार्टि बन्यो ।

२०६२/०६३ सालको जनआन्दोलन पछि संविधानसभाको निर्वाचनमा माओवादी प्रत्यक्षतर्फ बहुमतसहित सबैभन्दा ठुलो दल बन्यो । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमाले दोस्रो र माओवादी तेस्रो बन्यो । यस बिचमा कम्युनिष्ट पार्टिबाट क. मनमोहन, माधवकुमार नेपाल, पुष्पकमल दाहाल (प्रचण्ड), झलनाथ खनाल, बाबुराम भट्टराई, के पि शर्मा ओली प्रधानमन्त्री बन्न सफल भए । २०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर निर्वाचनमा होमिएका दुइ कम्युनिष्ट पार्टिले करिब दुइ तिहाइ बहुमत सिट जित्न सफल भएका थिए । यो कम्युनिष्ट पार्टिको एकता नै नेपालमा कम्युनिष्ट पार्टिको सबैभन्दा ठुलो सफलता थियो ।

५ वर्षको लागि बनाइएको दुइ तिहाइ नजिकको कम्युनिष्ट सरकार आजसम्म आइपुग्दा तीन वर्ष जसोतसो सरकारको नेतृत्व गरेका के पि ओलीले बारम्बार संसद विघटन गरेपछि अदालतबाट सत्ताच्यूत भएका छन् । कम्युनिष्ट पार्टि विभिन्न गुट समुह मिलेर छिया छिया भएको छ ।

जे होस्, कम्युनिष्ट पार्टी अझै एक हुनसक्छ । अझै शक्तिशाली हुनसक्छ । जसको आधार भनेकै क. पुष्पलालको विचार हो । उनका विचारका कारणले कम्युनिष्ट पार्टि अहिलेसम्म जिवित छ । सामान्य नेता आन्दोलनले जन्माउँछ र विशिष्ट नेता आन्दोलन र विद्रोहले जन्माउँछ भन्ने प्रमाण क.पुष्पलाल हुन् । नेपालमा नेकपा र कम्युनिष्ट आन्दोलनका प्रणेता, श्रेयता र इतिहास पुरुष क.पुष्पलाल हुन् । उनलाइ नसम्झी कम्युनिष्ट पार्टि सम्झनु अपुरो र साँघुरो रहनेछ ।