डेल्टा भेरियन्टमा अमेरिकी खोप निकै कम प्रभावकारी

Newslaya Home

डेल्टा भेरियन्टमा अमेरिकी खोप निकै कम प्रभावकारी

बुधबार ०६, साउन २०७८

काठमाडौं । अमेरिकी कोरोना खोप (जान्सेन) कोरोनाको डेल्टा भेरियन्टविरुद्ध कम प्रभावकारी देखिएको छ । अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनले यो खोपको विकास गरेको हो भने नेपालमा पनि यो खोप लाउने काम भइरहेको छ ।

मंगलबार सार्वजनिक गरिएको अध्ययनको एउटा रिपोर्टअनुसार जान्सेन खोप डेल्टा भेरियन्टविरुद्ध केवल ३३ प्रतिशत प्रभावकारी रहेको पाइएको हो ।

शोधकर्ताहरुले यो अध्ययन अनुसार जान्सेनको खोप लगाएका मानिसहरुलाई अर्कै खोपको थप एक डोज आवश्यक हुन सक्ने बताएका छन् । अमेरिकामा अहिलेसम्म एक करोड ३० लाखभन्दा धेरै अमेरिकी नागरिकहरुले जान्सेन खोप लगाएका छन् । यो खोपको साइड इफेक्टसमेत देखिएको बताइएको छ ।

बुधबार अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले दिएको जानकारीअनुसार अमेरिकामा भेटिएका नयाँ संक्रमितमध्ये ८३ प्रतिशतमा डेल्टा भेरियन्ट देखिएको छ । साथै यो भेरियन्टले अमेरिकाको करीब सबैजसो राज्यमा संक्रमण बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइएको छ ।