श्रीलंकाविरुद्ध भारतको रोमाञ्चक जित

Newslaya Home

श्रीलंकाविरुद्ध भारतको रोमाञ्चक जित

बुधबार ०६, साउन २०७८

काठमाडौं । श्रीलंका भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले दोस्रो एकदिवसीय खेलमा ३ विकेटको रोमाञ्चक जित निकालेको छ।

कोलम्बोको राजपक्ष प्रेमदासा स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७५ रनको शानदार योगफल तयार गरेको थियो। श्रीलंकाका लागि चरिथ असलनकाले सर्वाधिक ६५ रन बनाउँदा ओपनर अभिस्का फर्नान्डोले ५० रन जोडेका थिए। भारतका लागि भुवनेश्वर कुमार र युजवेन्द्र चहेलले समान ३-३ विकेट लिंदा दिपक चहरले २ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा २७६ रनको लक्ष्य पछ्याउने क्रममा भारतको शुरुवात राम्रो हुन सकेन। ओपनर पृथ्वी श सस्तोमै पविलियन फर्किँदा कप्तान शिखर धवनले २९ रन बनाउन सफल भए। सूर्यकुमार यादवले ५३ रनको अर्धशतकिय पारी खेल्दा अन्य ब्याट्सम्यान सस्तोमै समेटिएका थिए। त्यसपछि भारतको बचाउमा आए दिपक चहर। साधारणतया बलरका रूपमा चिनिने चहरले ६९ रनको अविजित पारी खेल्दा भारतले श्रीलंका माथि निकै नै रोमाञ्चक जित दर्ता गरेको हो।

यस जितसँगै भारतले एक खेल अगावै सिरिज आफ्नो कब्जामा पार्न सफल भएको छ। खेलमा शानदार प्रदर्शनीका लागि दिपक चहर ‘म्यान अफ दि म्याच’ घोषित भए।