१४ करोडको संरचना बनाएर पनि प्रदेश १ मा चलेन तरकारी बजार

Newslaya Home

१४ करोडको संरचना बनाएर पनि प्रदेश १ मा चलेन तरकारी बजार

शनिबार ०२, साउन २०७८

विराटनगर । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मोरंगको कटहरी गाउँपालिका १ मा २७ महीनाअघि निर्माण गरी उद्घाटन गरेको तरकारी तथा फलफूल बजार अलपत्र परेको छ ।

१४ करोड लागतमा निर्माण भएको ‘कटहरी फलफूल तथा थोक बजार’ प्रयोग विहीन भएको हो ।

उद्घाटनको दुई वर्षसम्म सञ्चालन प्रयास गर्दा नसकेको सरकारले अन्तिममा विशिष्टीकृत सहकारी संघलाई जिम्मा दिएको थियो । एक वर्ष भाडा नतिर्ने गरी पाँच वर्षका लागि ठेक्का पाएको सहकारी संघले पनि बजार सञ्चालन गर्न सकेको छैन । बजार सञ्चालन नहुँदा १३ करोड ७६ लाख ५४ हजार ७१० रुपैयाँ निर्माण भएको बजारको संरचना खण्डहर बन्दै गएको छ ।

विराटनगरको गुद्री बजारलाई स्थानान्तरण गरी व्यवस्थित गर्ने उद्देश्यले संघीय सरकारअन्तर्गतको व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले तरकारी बजार निर्माण गरेको थियो ।

विराटगर ९ गुद्री चोकमा लाग्दै आएको बजारका ब्यापारी कटहरी रहेको बजारमा जान नमानेपछि प्रदेश सरकारको पटक पटकको प्रयास असफल भएको हो ।

बजार सञ्चालनका लागि कटहरी फलफूल तथा तरकारी थोक बजार विकास समिति गठन गरिएको छ । समिति संयोजक प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय प्रमुख बलराम निरौलाले सहकारीले बजार सञ्चालन गर्न नसकेको बताए । सञ्चालनका लागि सहकारीलाई ताकेता गरिरहेको उनले बताए ।