आज सुनसरीका पत्रकारले लगाए कोरोनाविरुद्धको खोप

Newslaya Home

आज सुनसरीका पत्रकारले लगाए कोरोनाविरुद्धको खोप

मङ्गलबार ०१, असार २०७८

इटहरी । सुनसरीका पत्रकारहरुले कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएका छन् । मंगलबार इटहरी अस्पतालमा जिल्लाको इटहरी, बराहक्षेत्र, रामधुनी, दुहवी र इनरुवाका पत्रकारहरुले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय सुनसरीबाट उपलब्ध भएको खोपमध्ये असार १ गते (आज) पहिलो दिन १ सय १७ जनाले खोप लगाएका हुन् । पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाका अनुसार असार १ र २ गते खोप लगाउने गरी तयारी गरिएअनुरुप भेरोसिल खोप लगाइएको हो । धरानसहित बाँकी रहेका अन्य पत्रकारहरुले भने भोलि (बुधबार) २ गते इटहरी अस्पतालमा खोप लगाउने तयारी भएको निरौलाले जानकारी दिए ।

निरौलाका अनुसार बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म इटहरी अस्पतालमा खोप लगाइने छ ।

मंगलबार पत्रकारहरुसहित नेपाली सेना, जेष्ठ नागरिक लगायतलाई खोप लगाइएको इटहरी अस्पतालका इन्चार्ज रामकुमार धमलाले बताए । उनका अनुसार मंगलबार पत्रकारसहित तीन सय बढीलाई कोभिड विरुद्धको भेरोसिल खोप लगाइएको थियो ।

संचारकर्मीहरुलाई सूचना विभागको परिचयपत्र, पत्रकार महासंघको सदस्यता परिचयपत्र र सम्बन्धित संचारगृहको परिचयपत्रका आधारमा खोप लगाइएको महासंघ सुनसरीका सचिव धुव्र ढकालले जानकारी दिए । महासंघ सुनसरीमा नाम टिपोट गराएका जिल्लाका दुई सय ८८ जनाको नाम सिफारिस गरेको थियो ।