बन्द भयो चार्टर्ड उडान, मलेसिया, युएई र साउदीका लागि नियमित उडान हुने

Newslaya Home

बन्द भयो चार्टर्ड उडान, मलेसिया, युएई र साउदीका लागि नियमित उडान हुने

सोमबार ३१, जेठ २०७८

काठमाडौँ । अन्तरराष्ट्रिय उडानका लागि चार्टर्ड उडान नहुने भएको छ । चार्टर्ड उडानमा यात्रुसँग धेरै भाडा लिएको उजुरी पर्न थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान बन्द गरेको जनाएको छ । विदेश जाने यात्रुहरूले बढी भाडा तिरेको उजुरी परेपछि नियमित उडान खुलाउने गरिएको मन्त्रालयको भनाइ छ ।

विदेश जान टिकट खरिद गर्दा ट्राभल एजेन्सीले तोकेको भाडादरभन्दा बढी लिएमा नाम तोकेर प्रहरी कार्यालयमा जाहेरी दिन सक्ने अधिकारीले बताए । यात्रु बोक्ने गरी चार्टर्ड नभएको र स्वास्थ्य सामग्री बोक्नका लागि मात्र चार्टर्ड उडान अनुमति दिएको उनको भनाइ छ ।

सरकारले नियमित उडानलाई पहिलो प्राथमिकतामा राखेको छ । सोही अनुरुप पहिलो चरणको नियमित उडान यही जेठ १८ देखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको थियो ।

यी देशहरूमा नियमित उडान सुचारु भएकाले पनि चार्टर्ड बन्द गर्ने योजना अनुरुप बन्द भएको उनको दाबी छ । नेपालमा विभिन्न समयमा आएर बसोबास गरेकाहरू स्वदेश फर्कन नपाएपछि फर्कने वातावरण मिलाइदिन सम्बन्धित मुलुकका दूतावासले आग्रह गरेकाले मन्त्रालयले अनुमति दिएको थियो ।

नियमित उडान नहुँदा धेरै नेपालीहरू विदेशमा अलपत्र परेको विदेशस्थित दूतावसाले गुनासो गरेपछि नियमित उडान खोलिएको उनले बताए ।

आगामी सातादेखि थप तीन मुलुकका लागि नियमित उडान सुचारु हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सीसीएमसीलाई अन्य मुलुककका लागि पनि नियमित उडान खुलाउन प्रस्ताव गरेको छ । सीसीएमसीले मन्त्रिपरीषद्को‍ बैठकमा उडान खुलाउने प्रस्ताव लगेमा उडान नियमित हुने अधिकारी बताउँछन् ।

मलेसिया, युएई र साउदी अरबका लागि नियमित उडान खुलाइने प्रवक्ता अधकारीले जानकारी दिए । यसअघि टर्की, चीन र युएईका लागि उडान खुलिसकेको छ ।

नियमित उडान खुलिसकेकाले चार्टर्ड उडान बन्द गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । जेठ २३ गतेदेखि चार्टर्ड उडान बन्द गरेको उनले बताए । अहिले स्वास्थ्य सामग्री आयात गरिएका चार्टर्ड उडान मात्र हुने गरेको क्षेत्रीको भनाइ छ ।