सुनसरीमा धान रोपाइ शुरु

Newslaya Home

सुनसरीमा धान रोपाइ शुरु

सोमबार ३१, जेठ २०७८

सुनसरी । सुनसरीका विभिन्न ठाउँमा धान रोपाई शुरु गरिएको छ । जिल्लाको ६ वटा स्थानिय तहका विभिन्न क्षेत्रमा रोपाई शुरु गरिएको कृषकहरुले बताएका छ्न् ।

इनरुवा नगरपालिकाको जल्पापुर, बबिया, डुम्राहा, आसपास भोक्राहा नरसिंह गाउँपालिकाको सोनयाही, नरसिंह, अकाहा, शिवगंज र हरिनगर गाउँपालिकाको भुटाहा बसन्तपुर, गौतमपुर, घुस्की आसपास, देवानगंज गाउँपालिको होर्साही, कप्तानगंज, गढी गाउँपालिकाको छिटाहा, ओराबनी आसपास, बर्जु गाउँपालिकाको अमाही बेलाहा, चिम्डी आसपास चौर लगायतको क्षेत्रमा प्रशस्त मात्रामा धान खेती गरिन्छ ।

बिश्व भरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ को दोस्रो भेरिण्टलाई पहयाउदै किसानहरु अहिले रोपाईमा व्यस्त देखिएको कृषकहरु बताउँछन् । यसपटक असार लाग्नासाथ मनसुन सक्रिय भएर वर्षा शुरु हुन थालेपछि सुनसरी जिल्लामा केही कृषकले असारको शुरुदेखि नै धान रोपाइँ शुरु गरेका छन् ।

विगतका वर्षमा असारको तेस्रो हप्तादेखि मात्र सुनसरीलगायत तराईका जिल्लामा धान रोपाइँ शुरु हुने गरेता पनि यस पटक वर्षा अगाडि नै शुरु भएपछि सुनसरीमा भने धानको बीउ हुर्किन लागेका स्थानमा कृषकले धान रोपाइँ शुरु गरेको कृषकहरु बताउँछन् ।

अहिले जिल्लाको सदरमुकाम इनरुवा नगरपालिका र भोक्राहा नरसिंह, कोशी, हरिनगर, बर्जु गाउँपालिका लगायतका क्षेत्रमा कृषकहरुले धान रोपाइँ शुरु गरेको सो क्षेत्रका कृषकहरु बताउँछन् ।

भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ८ सोनयाही आसपासका क्षेत्रमा विगत धेरै वर्ष देखि सुनसरी खोलाको बाढीले यस क्षेत्रमा लगाएको धान बाली नष्ट हुँदै आएको, हरेक वर्ष यस्ता समस्या सिर्जना हुँदै, ट्याक्टरले खेतमा जोतकोड गरेको पैसा समेत खेतबाट उब्जाउन नसकेपछि कतिपय किसानहरुले धान रोप्न छाडेको बताउँछन् । धानबाली उब्जाउन नसकेकोले सो क्षेत्रमा पहिलो पटक किसानले सनपाठ उब्जाउन लागेको भएपनि यसपाली सनपाठ पनि हुन्छ कि हुँदैन भन्ने यकिन नरहेको किसानहरुले बताउँछन् ।

असार महिनाको शुरुमा नै वर्षा राम्रो हुन थालेपछि सुनसरीका कृषकलाई भने असारको शुरुदेखि नै अहिले धान रोपाइँको चटारोले छोएको हो । मनसुन शुरु भए पनि पर्याप्त वर्षा नहुँदा धान रोपाई गरीएका खेतहरुमा सिचाँईको लागि पानी पुर्याउन समस्या भएको कृषकहरुको भनाई छ । अर्कातर्फ एक्कासी हुने भीषण वर्षाका कारण विभिन्न क्षेत्रहरुमा मोटरबाटो निर्माण गर्दा थुपारिएको माटोलाई बगाएर पानीका मुहानहरुलाई पुर्दा थप समस्या सिर्जना हुन सक्ने किसानको भनाई छ ।