बोराभित्र भेटिएको खुट्टा कस्को हो ? प्रहरीका विभिन्न शंका

Newslaya Home

बोराभित्र भेटिएको खुट्टा कस्को हो ? प्रहरीका विभिन्न शंका

सोमबार ३१, जेठ २०७८

काठमाडौं । गत जेठ २५ गते काठमाडौं ६ स्थित टाउन प्लानिङमा भेटिएको मानिसको एउटा खुट्टाको रहस्य पत्ता लगाउन प्रहरी जुटेको छ । मानिस नै मारेर फ्याकिएको हो या खुट्टा मात्र काटेर फ्याँकेको हो भन्ने खुलेको छैन । चार जना मानिसले बोरा ल्याएर फ्यालेको दृश्य सीसी क्यामरामा कैद भएको थियो । पछि उनीहरुले फ्यालेको बोराभित्र पराल सहित पोको पारेको अवस्थामा घुँडाभन्दा तलको मानिसको खुट्टा फेला परेको थियो ।

फुटेजको आधारमा प्रहरीले फ्याल्ने एक जना मानिसको स्केच समेत तयार पारिसकेको छ। प्रहरीले शरीरको अन्य भागसमेत कतै फालिएको छ कि भनेर खोजिरहेको छ ।

खुट्टा वयस्क व्यक्तिको र महिलाको हुनसक्ने भन्दै चिकित्सकले प्रहरीलाई जानकारी दिएको छ । खुट्टाको डीएनए परीक्षण भइरहेको छ । प्रहरीले हराएर प्रहरीमा उजुरी परेका वयस्क महिलाको विवरण समेत निकालेर अनुसन्धान अगाडि बढाएको छ। खुट्टा केही डढेको अवस्थामा थियो । खुट्टाको प्रकृति हेर्दा मृत्यु भएको दुई देखि तीन हप्तासम्म हुनसक्ने घटनास्थल पुगेका चिकित्सकले प्रहरीलाई जानकारी दिएका थिए। बोरामा भेटिएको खुट्टाभित्र नली खुट्टासमेत भेटिएको छैन । त्यसैले हत्या नभएर अरू नै केही हुनसक्ने आशंकामा प्रहरी पुगेको हो।

तान्त्रिक पूजा तथा फेरी लगाउँदा नलीखुट्टाको प्रयोग हुने सुनिएकाले पनि प्रहरीले त्यसतर्फ पनि अनुसन्धान गरिरहेको छ। मरिसकेको मानिसको शरीरबाट हड्डी निकालेको वा कुनै चिहानबाट शव निकालेर खुट्टाको हड्डी झिकेर बाँकी भाग फ्यालेको पनि हुनसक्ने प्रहरीको शंका छ ।

वाग्मती किनारमा सङ्क्रमणबाट दैनिक २० जना भन्दा बढीको दाहसंस्कार भएको थियो। त्यहाँबाट पनि कसैले अर्ध जलेको शवबाट खुट्टा ल्याएको हुनसक्ने भन्दै अनुसन्धान गरिरहेको छ।