खोप नपाएपछि व्यवसायीले बन्द गरे इन्धन सेवा

Newslaya Home

खोप नपाएपछि व्यवसायीले बन्द गरे इन्धन सेवा

सोमबार ३१, जेठ २०७८

काठमाडौँ । चालक, सहचालक र पम्पमा कार्यरत कर्मचारीका लागि कोभिडविरुद्धको खोप माग्दै पेट्रोलियम व्यवसायीले इन्धनको लोड अनलोड बन्द गरेका छन् ।

सेवा दिने क्रममा चालक तथा सहचालक र पम्पमा कार्यरत कर्मचारीको कोरोना संक्रमणका कारण निधन भइरहेको र यस क्षेत्रमा आबद्ध मजदुरका परिवारमा समेत संक्रमण फैलिरहेकाले खोपको व्यवस्था नभएसम्म सेवा दिन नसकिने नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सोही कारण व्यवसायीले आइतबार थानकोट डिपोबाट इन्धन लोड अनलोड नगरेको निगमले जनाएको छ ।

डिपो खुला भए पनि आइतबार व्यवसायीहरूले इन्धन नउठाएको थानकोट डिपो प्रमुख अभिषेक ठाकुरले बताए ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले जारी गरेको विज्ञप्तिमा बारम्बार ध्यानाकर्षण गराउँदा कुनै कदम नचालिएको उल्लेख छ । संघले गरेको निर्णयमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पनि समर्थन गरेको छ । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा पनि विरोधप्रति नैतिक समर्थन रहेको उल्लेख छ ।

व्यवसायीलाई आइतबार इन्धन लोड अनलोड नगरे पनि निषेधाज्ञा जारी रहेकाले सर्वसाधारणलाई तत्काल असर भने पर्दैन । एसोसिएसनले खोपका विषयमा आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत पत्र पठाएको छ ।

‘एसोसिएसनले फागुन ७ र वैशाख १७ मा लगातार पत्राचार गरिसकेको र प्रदेशअन्तर्गत सञ्चालक, कर्मचारी तथा फर्मका चालकरसहचालकसमेत गरी १० हजार ३ सय ४८ जनालाई खोप माग गरिएको छ,’ अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले पठाएको पत्रमा भनिएको छ, ‘सम्बन्धित मन्त्रालयका तर्फबाट समेत त्यस मन्त्रालयमा खोप उपलब्ध गराइदिन सिफारिस गरिसके पनि हालसम्म खोप उपलब्ध हुन सकेको छैन । यस महामारीले पेट्रोलियम व्यवसाय क्षेत्रमा ११ जनाले ज्यान गुमाइसकेको र १ हजार जना संक्रमित भइसकेका छन् । हाल संक्रमितको संख्या १ सय ४६ जना छ । शीघ्र खोप उपलब्ध नहुँदा पेट्रोलियम व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था रहँदैन । जुनसुकै दिनमा व्यवसाय बन्द हुन सक्ने अवस्था सिर्जना हुन सक्छ ।’

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पनि आइतबार सरकारी र साझाबाहेक अन्य ट्यांकरमा इन्धन लोड नभएको बताए । व्यवसायीलाई खोप लगाउने विषयबारे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई पत्र पठाइसकेकाले अब सहज हुने बताए ।