डेनमार्कका स्टार फरवार्ड क्रिस्टियन एरिक्सन खतरामुक्त

Newslaya Home

डेनमार्कका स्टार फरवार्ड क्रिस्टियन एरिक्सन खतरामुक्त

आइतबार ३०, जेठ २०७८

काठमाडौं । डेनमार्कका स्टार फरवार्ड क्रिस्टियन एरिक्सन खतरामुक्त भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले अहिले उनको अवस्था ठिक तर स्थिर रहेको बताएका छन् । डेनिस फुटबल फेडेरेसनले पनि अहिले एरिक्सनको अवस्था ठिक रहेको जनाएको छ ।

युरोकप २०२० अन्तर्गत शनिबार राति फिनल्यान्डविरुद्धको खेलको पहिलो हाफको अन्त्यतिर एरिक्सन अचेत भई अकस्मात मैदानमा ढलेका थिए । एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएपछि रेफ्रीले तत्काल स्वास्थ्य टिम मैदानमा बोलाएका थिए ।

बल उनको स्थानसम्म नआउँदै एक्कासी ढल्न पुगेका एरिक्सनलाई मैदानमा स्वास्थ्य टोलीले सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए । झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो ।

घट्नापछि आयोजक युईएफएले मेडिकल इमरजेन्सीको कारण देखाउँदै खेल स्थगित पनि गरेको थियो । तर, दुवै टिमको छलफलपछि खेल झन्डै डेढ घन्टापछि सुरु भएको थियो । त्यसपछि युरोमा डेब्यु खेल खेलिरहेका फिनल्यान्डले १–० को जित निकाल्न सफल भयो ।