सुनसरीमा थप एक साता लम्बियो निषेधाज्ञा

Newslaya Home

सुनसरीमा थप एक साता लम्बियो निषेधाज्ञा

आइतबार ३०, जेठ २०७८

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा जारी निषेधाज्ञा एक साता थप गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय परिसरमा आज (आइतबार) प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले यसअघि जेठ ३१ गते सम्मका लागि जारी गरिएको निषेधाज्ञा असार ७ गतेसम्म थप गरेको हो । निषेधाज्ञा थप गरिएसँगै पसल सञ्चालनको समयसीमा भने हेरफेर गरिएको छ ।

डीसीसीएमसीका अनुसार यसअघि बिहान १० बजेदेखि अपराहन्न ३ बजेसम्म खाद्यान्न, फलफूल, तरकारी तथा स्टेसनरीजस्ता पसल सञ्चालनको अनुमति दिएकोमा अब बिहान ५ बजेदेखि ११ बजेसम्म पसल सञ्चालनको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको महामारी सुरु भएयता मानवीय क्षतिसमेत हुन थालेपछि सोको नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्दै आएको छ ।