सन् २०२० मा भन्दा यसवर्ष विश्वमा कोरोनाबाट धेरै व्यक्तिको मृत्यु

Newslaya Home

सन् २०२० मा भन्दा यसवर्ष विश्वमा कोरोनाबाट धेरै व्यक्तिको मृत्यु

शुक्रबार २८, जेठ २०७८

काठमाडौँ । गत वर्षको तुलनामा यसवर्ष विश्वमा कोरोना भाइरसबाट धेरैको मृत्यु भएको पाइएको छ । सन् २०१९ को अन्त्यमा चीनको हुबे प्रान्तको वुहान शहरबाट कोभिड १९ को भाइरस देखा परेको थियो । त्यसपछि सन् २०२० मा यो भाइरस विश्वभर पुगेको थियो ।

तर गत वर्षको भन्दा पनि यस वर्ष यो भाइरसबाट विश्वमा धेरै नागरिकको ज्यान गएको पाइएको छ। अमेरिकाको वाल स्ट्रिट जर्नलका अनुसार अघिल्लो वर्षको भन्दा यस वर्षको छ महिनायता नै विश्वमा कोभिडबाट धेरै मानिसको ज्यान गएको छ ।

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको रिपोर्टअनुसार यस वर्षको छ महिनामा मात्र १८ लाखभन्दा बढी मानिसको विश्वमा कोभिडको संक्रमणबाट नै मृत्यु भएको छ ।

कोभिडबाट भएको यो मृत्युको संख्या हेर्दा अहिले पनि संसारका कैयौँ स्थानमा कोभिडको महामारीले मानिसको ज्यान लिने क्रम नरोकिएको देखिएको उक्त विश्वविद्यालयले जनाएको छ ।