मोरङमा हतियार र लागुऔषधसहित तीन जना पक्राउ

Newslaya Home

मोरङमा हतियार र लागुऔषधसहित तीन जना पक्राउ

बिहीबार २७, जेठ २०७८

मोरङ । मोरङमा हतियार तथा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनवर्षी गाउँपालिका–८ का ६० वर्षीय अब्बास मिया, चेवन कुमार धमला, बिशाल भन्ने खेम भट्टराई रहेका छन्।

अब्बास मियाको घरमा पेस्तोल, त्यसको गोली र लागुऔषध समेत फेला परेको मोरङका डीएसपी मानबहादुर राईले जानकारी दिए।

बुधबार बिहान बेलबारी नगरपालिका १० भाउन्ने जंगलस्थित पूर्व पश्चिम लोक मार्गमा धमला र भट्टराई सवार मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको थियो।

त्यस क्रममा स्थानीय १६ वर्षीय प्रितम राई, १५ वर्षीय सन्देश दास र कानेपोखरी गाउँपालिका ७ का ६५ वर्षीय दिलकुमार योगीलगायतलाई ठक्कर दिँदा ५ जना घाइते भएका थिए।

उनीहरुलाई उपचारको लागि नोवेल सामुदायिक अस्पताल बेलबारीमा लगिएको थियो। घाइते मध्ये सुन्दरहरैचा नगरपालिका ९ का चेवन कुमार धमला र बिशाल भन्ने खेम भट्टराईलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले शंकास्पद देखी चेकजाँच गर्ने क्रममा लागुऔषध ८९२ पिस नाईट्रोजन ट्याब्लेट र १३.८६० ग्राम चरेश जस्तो देखिने कालो पदार्थ फेला पारेको थियो।

अनुसन्धानको क्रममा उक्त लागुऔषध अब्बास मियाबाट किनेको उनीहरुले बताएका थिए। त्यसपछि प्रहरीले मियाको घरमा खानतलासी गर्ने क्रममा एउटा कटुवा पेस्तोल, २ थान गोली, नाईट्रोभेट ६०० ट्याब्लेट, डाईलेक्स डिसी २ बोतल र एउटा चक्कु फेला पारेको थियो।