धरानको सर्दु उत्खनन् रोक्न जानेमाथि आक्रमण, ठेकेदारको उजुरीपछि ७ जना पक्राउ

Newslaya Home

धरानको सर्दु उत्खनन् रोक्न जानेमाथि आक्रमण, ठेकेदारको उजुरीपछि ७ जना पक्राउ

बिहीबार २७, जेठ २०७८

धरान । धरानस्थित सर्दु खोला उत्खनन रोक्न जाने ६ जना ठेकेदारपक्षले कुटपिटबाट घाइते भएका छन् । बुधबार उत्खनन् रोकेर स्काइभेटर र ट्रिपरलाई फकाईरहेको टोलीमाथि ठेकेदार पक्षका युवाहरु पुगेर अन्धाधुन्दा आक्रमण गरेका थिए ।

तर उता ठेकेदार पक्षले भने आफूहरुमाथि आक्रमण भएपछि प्रतिकार गरेको जानकारी दिएको छ । आक्रमण भएको भन्दै स्काइभेटर चालकहरुले इलाका प्रहरीमा कार्यालयमा उजुरी दिएका छन् । उजुरीपछि ७ जना पक्राउ परेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए । उनले घटनाका योजनाकार हर्क साम्पाङ फरार रहेकोले खोजी भइरहेको जानकारी दिए ।

केही दिनदेखि हर्क साम्पाङ सर्दु खोलामा भइरहेको उत्खनन् रोक्ने अभियानमा थिए । सोही क्रममा सोमबार मोटरसाइकलमा सवार उनीको चेकिङमा रहेका प्रहरीसँग भनाभन र हात हालाहाल भएको थियो । त्यसयता साम्पाङ भुमिगत छन् । तर, उनले सामाजिक सञ्जाल फेसबुकबाट सर्दु खोला उत्खनन् रोक्न आह्वान गर्दै आएका छन् । उनको आह्वानपछि समर्थकहरुको समुह बुधबार पनि सर्दु खोला उत्खनन् रोक्न पुगेको थियो ।

साम्पाङ गएको उपनिर्वाचनमा धरानमा मेयर पदमा स्वतन्त्र उम्मेदवार थिए । पछिल्लो समय उनले धरानको खानेपानीको बिषयलाई प्रखररुपमा उठाएर आन्दोलन गरे । यसअघि खानेपानी मुहानको पाइप तोडफोड गरेपछि उनी पक्राउ परेका थिए ।

उनले सामाजिक सञ्जालबाट घटनामा आफ्नो संलग्नता नरहेको र आफूले धराने जनतालाई बचाउन आन्दोलन गरेको दावी गरे । उनले नदी दोहन गर्नेहरुले नै केटाहरु पठाएर आक्रमण गराएको आरोप लगाएका छन् । उनले प्रहरीले पीडितहरुलाई नै उल्टै पक्राउ गरेको बताउँदै रिहा गर्न माग गरेका छन् ।