एक वर्षमा खाने तेल लिटरमा सय रुपैयाँ महँगीयो

Newslaya Home

एक वर्षमा खाने तेल लिटरमा सय रुपैयाँ महँगीयो

बिहीबार २७, जेठ २०७८

काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थ मूल्य बढेपछि नेपालमा खानेतेलको मुल्य आकाशिएको छ । लिटरमै एक सय रुपैयाँ बढेको छ । गत वर्ष वैशाख महिनामा १६० रुपैयाँ रहेको प्रतिलिटर तेलको मूल्य बढेर २६० रुपैया पुगेको छ ।

कच्चा पदार्थको मूल्य बढेर आएको भन्दै व्यवसायीले एक वर्षको अवधिमा खाने तेलको मूल्य धेरै नै बढाएका हुन् । लगातार मूल्य बढेपछि त्यसको प्रत्यक्ष असर आम उपभोक्तामा परेको छ । निषेधाज्ञाको बेला बजारमा चिनी, खाने तेलमा अभाव देखाएर मूल्य बढाउँदा उपभोक्ताई प्रत्यक्ष मार परेको उपभोक्ताहरुको गुनासो छ ।

नेपाल वनस्पति घिउ तेल उत्पादन संघका अनुसार अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्य बढेकाले तेलको मूल्य बढ्न गएको हो । संघमा आबद्ध २० वटा प्रशोधित खानेतेल उत्पादन गर्ने उद्योगले नियमतिरूपमा आफ्ना उत्पादन गरेर बजारमा वितरण गर्दै आएका छन् । उद्योगलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्टे«लिया, युक्रेन देशबाट आयात हुनेगर्छ । संघका अनुसार कच्चा पदार्थ बढेर आएकाले एक वर्षको अवधिमा ६ वटा खानेतेलको मूल्य (तोरी, वनस्पति, सोयाविन, सनफ्लावर, पाम र बदाम) २० देखि ५६ प्रतिशतसम्म बढेको छ ।