कोभिड खोप लगाउन जाँदा यी कुरामा ध्यान दिनुहोस्

Newslaya Home

कोभिड खोप लगाउन जाँदा यी कुरामा ध्यान दिनुहोस्

बुधबार २६, जेठ २०७८

काठमाडौं । सरकारले चीनबाट ल्याएको १० लाख डोज कोरोनाविद्धको खोप (भेरोसेल) मंगलबारबाट लगाउन सुरु गरेको छ । काठमाडौं उपत्यका बाहिरका अन्य जिल्लाहरुमा ६२, ६३ र ६४ वर्ष उमेर समूहलाई लगाइने छ भने उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ६० देखि ६४ वर्ष उमेर समूहका मानिसलाई लगाईंदै छ । खोप अभियान सुरु भएपछि देशभरमै लगाउनेको संख्या उल्लेख्य छ । जसकारण खोप केन्द्रमा भीड हुन थालेको छ । त्यसैले कोरोनाविरुद्धको खोप लगाउन जाँदा यी कुरामा ध्यान दिनुहोस् :

खोप लगाउन जाँदा जिल्ला स्वास्थ्य कार्यालय वा पालिकाले निकालेको खोप केन्द्रका सूचना हेर्ने वा सम्पर्क गरेर मात्र जाने ।

आफ्नो नाम, उमेर, ठेगाना खुल्ने सरकारी परिचयपत्र वा वडाको सिफारिस लिएर जाने ।

नाक, मुख र चिउँडो पूरै छोपिने गरी मास्क, फेसशील्ड लगाएर जाने ।

छोटो बाहुला भएको खुकुलो कपडा लगाउने ।

खोप लगाउन लाइन बस्दा दुई मिटरको भौतिक दूरी कायम राख्ने ।

खोप लगाउन भन्दा पहिले र पछि साबुन पानीले मिचिमिचि हात धुने ।

खोप लगाउने बेलामा पनि मास्क लगाइ राख्ने ।

खेप लगाएपछि आधाघण्टा जति खोप केन्द्रमै बस्नुपर्छ, त्यहाँ बस्दा दुई मिटरको भौतिक दूरी कायम राख्ने ।

स्यानिटाइजर साथमै बोक्ने ।

कुनैपनि सतह छुने बित्तिकै स्यानिटाइजरले हात सफा गर्ने ।

घर फर्किएपछि साबुन पानीले राम्ररी हात धुने ।