ओलीनिकट नेताहरुलाई नै चित्त बुझेन राजेन्द्र महतोको अभिव्यक्ति

Newslaya Home

ओलीनिकट नेताहरुलाई नै चित्त बुझेन राजेन्द्र महतोको अभिव्यक्ति

आइतबार २३, जेठ २०७८

काठमाडौँ । उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको तीव्र आलोचना भइरहेको छ । नेपाल ‘बहुल राष्ट्रिय राज्य’ रहेको भन्ने उनको अभिव्यक्तिलाई सामाजिक सञ्जालमा तीव्र आलोचना गरिएको छ । आफू राष्ट्रिय अखण्डतामा प्रतिबद्ध रहेको बताउँदै विज्ञप्ती जारी गरेपनि आलोचनाको श्रृंखला रोकिएको छेन ।

आफ्नो विगतको भारत परस्त गतिविधिबाट आलोचित रहँदै आएका महतोले सत्तामा पुग्ने बित्तिकै दिएको अभिव्यक्ति विवादास्पद बनेको हो ।

विवादास्पद अभिव्यक्ति दिएका उनलाई देश निकालासमेत गर्नु पर्ने माग विपक्ष दलहरुबाट उठेको छ । सामाजिक सञ्जालमा उनी ‘ट्रोल’ बनिरहेका छन्। अरु त अरु प्रधानमन्त्री ओलीको निकट मानिएका एमाले नेताहरुसमेत उनको अभिव्यक्तिदेखि रुष्ठ बनेका छन् ।

पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्री महतोको अभिव्यक्तिबारे आफूले स्पष्ट बुझ्न नभ्याएको तर बहुल राष्ट्रिय राज्यको कुरा गरिएको हो भने त्यो गलत कुरा भएको बताए । उनले भने, ‘संविधान निर्माणकै क्रममा त्यो मान्यतालाई संविधानसभाले अस्वीकार गरेको हो, सोही विषयमा पटक–पटक विवाद निकाल्नु गलत हुन्छ ।’

यस्तै पूर्व उद्योगमन्त्री लेखराज भट्ट, नेकपा एमाले नेता मणि थापा, एमाले केन्द्रीय सदस्य विष्णु रिजाललगायतले समेत महतोको अभिव्यक्तिलाई गलत भनेका छन् ।