आज जौको सातु खाने दिन

Newslaya Home

आज जौको सातु खाने दिन

शुक्रबार ३१, बैशाख २०७८

हरेक वर्ष झैं वैशाख शुक्ल तृतीयाका दिन आज पनि स्नान, जप, तप, हवन, दान गरी अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।

जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली सर्वत बनाएर ब्राहृमणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने धार्मिक विश्वास छ । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ ।

यसै दिन त्रेता युगको शुरुवात भएको मानिन्छ । शिव र पार्वतीका बीच विवाह पनि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाकै दिन भएको शास्त्रमा उल्लेख छ ।

आज माटो, तामा वा पित्तलको घडामा सर्वत राखेर ब्राहृमणलाई दान गरिन्छ । यस्तो घडामा ब्रहृमा, विष्णु र शिव तीनै स्वरुपका भगवान्को निवास हुने मान्यता छ । यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ ।