कबिता : आमा !

Newslaya Home

कबिता : आमा !

- नरेन्द्र दाई
बिहीबार ३०, बैशाख २०७८

बिदेशमा बडो मुस्किलले मजदुरीबाट समय निकाल्दै, मैले मेरी आमालाइ फोन गरे तातो बालुवामा उभिएर ।

आमा भन्दै छिन् छोरा पानी परेको छैन अनिकाल हुने भो, घाँस पात केही पलाएको छैन । बस्तु मर्ने भए छोरा, कोरोनाले सबै तिर बन्द छ ।

हस्पिटलमा बेड छैन अरे, अक्सिजन नपाएर मानिस मरेका छन् अरे, रेडियोले मान्छे मरेको मात्रै समचारर भन्छ । गाउँ हुदि नि चकमन्न छ, के खाएर बाच्ने हो अब ? अन्न पात पनि सकियो । कसैले केही दिदैनन् । आफ्नै भुडी भर्न हतारो छ ठुला बडालाई । एक सासमा हतार हतार मेरी आमा सुनाउछिन् ।

म भन्छु– अनि हाम्रो भैंसी ब्याएन आमा ? आमा भन्छिन्– भैँसी डाम्नो नि थारै रहेछ !

म भन्छु– भैंसी मात्रै होइन आमा हाम्रो देशमा, देश चलाउनेको मन पनि थारो छ, देश चलाउनेको मस्तिष्क पनि थारो छ, बिचार थारो छ, सिद्धान्त थारो छ, निकाय थारो छ, संयन्त्र थारै छन् र, गरिखाने हामी जस्ताका लागि सबै कुरा थारो छ आमा !!